नाै महिनामै राराताल पुगे १३ हजार बढी पर्यटक! पुर्वाधार अभावले सम्भावना सीमित

गाेल्डेन बुढा
जुम्ला ,१४ बैशाख ।
इलामका विजय तामाङ पहिलोपटक मुगुस्थित रारा ताल पुग्दा उनी अचम्मित भए। सुनेको रारा एउटा सामान्य ताल जस्तो लागे पनि आफ्नै आँखाले देखेपछि उनले त्यसलाई “स्वर्गकी अप्सरा”सँग तुलना गरे। वर्षौंदेखि रारा घुम्ने योजना बनाएका तामाङलाई समय र परिस्थिति मिलेको थिएन। अन्ततः इलामबाट गाडी रिजर्भ गरेर लामो यात्रा तय गरी रारा पुगेपछि उनले यात्राको सबै थकान बिर्सिएको अनुभव सुनाए। कर्णाली राजमार्गको कठिन यात्रा पार गर्दै पुगेका उनले भने, “साच्चिकै एकपटक पुग्नैपर्ने ठाउँ रहेछ।” ताल वरिपरि फैलिएको हरियाली, चिसो हावा र नीरव वातावरणले उनलाई प्रकृतिको काखमै पुगेको अनुभूति दिलायो। तर, यस अद्भुत सौन्दर्यको पछाडि कर्णालीको गहिरो पीडा पनि उत्तिकै देखिन्छ।यात्रा क्रममा भेटिएका कच्ची सडक, जोखिमपूर्ण पहाडी बाटो, बारम्बार अवरुद्ध हुने यातायात र सीमित पहुँचले यहाँको विकासको अवस्था प्रस्ट पार्छ। वर्षायाममा सडक झन् जोखिमपूर्ण बन्ने हुँदा यात्रु मात्र होइन, स्थानीयको दैनिक जीवनसमेत प्रभावित हुने देखियो। उनका अनुसार राराको किनारमा बसेर पानीमा देखिने आकाशको प्रतिबिम्ब प्रकृतिको सौन्दर्य नभई कर्णालीको सम्भावनाको प्रतीक जस्तै देखिन्छ। बिहानपख कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिने तालको रंग परिवर्तनले पर्यटकलाई घण्टौं आकर्षित गर्ने गरेको इलामकै अर्का पर्यटक गंगाबहादुर चेमजोङ बताउँछन्।कर्णालीको पर्यटन क्षेत्र ठूलो सम्भावनाको रूपमा देखिए पनि आवश्यक पूर्वाधारको अभावले अपेक्षित विकास हुन सकेको छैन। सडक, होटल, सञ्चार, सुरक्षा तथा पर्यटक सेवाको कमीले पर्यटकको संख्या सीमित बनेको छ।

उनलेे भने।रारा पुग्न मुगुको सल्लेरीबाट करिब एक घण्टा पैदल यात्रा गरियो, शुल्क तिरेर घोडा चढेर पनि यात्रा गर्याैँ। चेमजोङका अनुसार उनीहरूको ९ जनाको टोलीले भ्रमण गर्दा डुङ्गा यात्राका लागि प्रतिव्यक्ति ४५ मिनेटको ५ सय रुपैयाँ शुल्क लिइएको थियो, भने घोडा सयर दूरीअनुसार फरक शुल्कमा उपलब्ध थियो। राराभित्र सवारी साधन प्रवेश निषेध गरिनेरहेछ। रारा भ्रमणका लागि न्यूनतम ३० देखि ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान भयो। यात्रामा सहभागी टोलीमा गोपाल आचार्य, मुकेश धिताल, राजकुमार खाती, चैतन्य कार्की (सन्तोष) र सवारीचालक भूपेन्द्र दाहाल समेत रहेका थिए।रारासम्म पुग्ने यात्रामा कर्णालीका गाउँबस्ती, नेपाली भाषा साहित्यको उद्गमस्थल सिँजा उपत्यका लगायत ऐतिहासिक तथा सांस्कृतिक स्थल अवलोकन गर्न पाइनुमा अझै खुसी लाग्यो। इलामकै रुद्रबहादुर रानामगरका अनुसार इलामदेखि रारा पुग्ने यात्रा पर्यटन नभई नेपालको भौगोलिक, आर्थिक र सामाजिक असमानताको ऐना हो। उनले भने, “एकातिर राराको अनुपम सौन्दर्य छ, अर्कोतिर कर्णालीको पीडा। यी दुईबीचको दूरी घटाउनु आजको आवश्यकता हो।”राज्यले कर्णालीमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमा ध्यान दिए यो क्षेत्र देशकै समृद्धिको आधार बन्न सक्छ। उनी थप्छन्, स्थानीय तहदेखि संघीय सरकारसम्मले रारालाई कर्णालीको आर्थिक समृद्धिको आधार बनाउन नीतिगत पहल गर्नुपर्ने आवश्यकता औंल्याइए।
नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूर्णरूपमा कालोपत्रे गर्नुपर्ने अपरिहार्य छ। उनलेे भने, दसैं–तिहारको बीचमा आन्तरिक पर्यटकको चाप बढ्ने र होटल व्यवसायीले राम्रो आम्दानी हुने देखे, तर सेवासुविधा अझै सुदृढ गर्नुपर्ने आवश्यकता छ। कर्णालीको अर्को ठूलो समस्या भनेको राज्यको कमजोर पहुँच र लगानी अभाव हो। विकासका योजना कागजमै सीमित रहने, बजेट कार्यान्वयन कमजोर हुने र स्थानीय आवश्यकतामाथि बेवास्ता हुने प्रवृत्तिले क्षेत्रको विकास अवरुद्ध भएको बताउँछन्।यता रारा तालमा चालु आर्थिक वर्षको ९ महिनामा १३ हजार ८ सय ८३ पर्यटक भित्रिएका छन् । कच्ची सडक र हवाई जहाजको महंगो टिकटका बाबजुद पनि रारा तालले पर्यटकलाई आर्कषण गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को चैत महिनासम्मकाे तथ्यांक हो। सार्क राष्ट्रका पर्यटक ६९ र अन्य देशका पर्यटक १ सय ३३ जना रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जनाएको छ । पछिल्लो समय भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव यहाँका पर्यटन क्षेत्रमा समेत देखिन थालेको छ। अहिले हवाइ जहाजमा आउने पर्यटक भने घटिरहेका छन् । गाडीमा समूहमा मिलेर आउने धेरै छन् ।दैनिक सरदर ३५ जना पर्यटक राराताल घुम्न आइरहेको कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । पहिले अधिकांश पर्यटक जहाजमै ताल्चा विमानस्थलमा झरेर राराताल पुग्ने गर्थे । तर, अहिले जहाजको भाडा निकै महंगो भएकाले समूह मिलेर गाडी रिजर्भ गरेर घुम्न आउने गरेका छन् ।पहिले सुर्खेतदेखि ताल्चासम्म ७ हजार ४ सय रूपैयाँ भाडादर थियो । अहिले ९ हजार ६ सय रूपैयाँ पुगेको छ। श्रेष्ठले भने, ‘पर्यटकहरू महंगीको मारमा छन ।’राष्ट्रिय निकुञ्ज भएकोले प्रर्याप्त होटल अभावले पर्यटकलाई खाना बस्न समस्या छ । ‘एउटा मात्र होटल छ । होटल बास व्यवस्थित छैन,’ उनले भने, ‘तैपनि राराको सुन्दरतासँग रमाउन पर्यटकहरू जोखिम मोलेर आइरहेका छन् ।’रारा तालसम्मको पहुच सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । साँघुरो सडकमा भिरैभिरको यात्रा गर्दा डर लाग्ने गरेको पर्यटकहरू दुखेसो पोख्छन् ।यहाँसम्म पुग्ने कर्णाली राजमार्ग दुई लेनको पनि छैन । ताल क्षेत्रमा राम्रो खाने बस्ने सुविधा समेत छैन।’अहिले राराताल जान जुम्लादेखि दुईवटा सडक छन् । गाडीबाट आउनेहरू सिंजा उपत्यका अवलोकन गर्दै रारा ताल पुग्छन् । चौथा, न्याउरीघाट र खाली पाटनहुँदै सदरमुकाम खलंगा झर्ने गर्छन् । खलंगाको चन्दननाथ मन्दिरमा दर्शन गरेर फर्किने गरेका छन् । जहाजबाट जुम्ला विमानस्थलमा ओर्लिएकाहरू खाली, न्याउरीघाट, चौथा हुँदै राराताल पुगेर सिंजा उपत्यका घुमेर फर्किने गरेका छन् ।मुगुको छायाँनाथ रारा नगरपालिका–९, मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा ताललाई मानिन्छ ।समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटरको उचाइमा छ। विश्वमा अन्यत्र नपाइने ‘ ट्राउट’ माछाको समेत बासस्थान हो। विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र तीन सय प्रजातिका चरा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि रारा महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।१०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर राराको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ । तालको क्षेत्रफल १० दशमलव ६५ वर्ग किलोमिटर छ । बिहान कालो, दिउँसो नीलो, साँझ सप्तरङ्गी देखिन्छ। रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटक जाने गर्छन् ।नेपालको सबैभन्दा ठूलो तालका रूपमा रहेको रारा सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्त्व समेत दर्शाउँछ ।रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त हुँदैन ।राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छन्।






