१५५६ मेगावाट उत्पादन क्षमताका आयोजना अलपत्र


कालिकोट जिल्लामा रहेका तीन जलविद्युत आयोजना निर्माण भएको खण्डमा कर्णालीको उर्जा समृद्धिमा एक हजार पाँच सय ५६ मेगावाट विद्युत् थप हुनेछ । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना तथा ठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु जिल्लामा छन् ।

अहिले जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजना निर्माणका लागि उर्जा मन्त्रालयबाट अनुमति पाएका छन् ।

यी सबै आयोजना बनेको खण्डमा एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । जसको उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर कर्णालीकै समृद्धिका आधारका रुपमा विकासमा सहयोग पुग्ने देखिन्छ । त्योभन्दा पनि यस जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु छन् । तिनीहरुको अध्ययन तथा उपयोगिता हुन सकेको छैन् ।

चार सय ८० मेगावाट विद्युत उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) निर्माणका लागि स्वीकृती र विद्युत् उत्पादनका लागि टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको उर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ ।

आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पुरा भइसकेको फुकोट कर्णाली जलविद्युत् आयोजना प्रमुख डम्बर उप्रेतीले बताए । ‘फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पुरा भइरहेको छ’ उनले भने, ‘लगानीको मोडालिटी टुंग्याउन बाँकी रहेको छ ।’

आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । फुकोट कर्णाली जलविद्युत् आयोजनाले कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् ।

फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण भएमा कालिकोट जिल्लाका स्थानीयले शेयर पाउनुका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौं, यो आयोजना निर्माणको काम अगाडी बढ्दा स्थानीय निकै उत्साहित भएको पाएका छौं’ उनले भने, ‘आयोजना निर्माण भएमा स्थानीयले जलविद्युत्मा शेयर पाउनुका साथै रोजगारीको अवसर पनि जुटाउनेछ ।’

यो आयोजनाका लागि ९२ अर्ब तीन करोड रुपैयाँ लाग्ने विस्तृत अध्ययनले देखाएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजना पुरा गर्ने लक्ष्य राखिएको छ । यो आयोजनाको सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन टनेलमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ ।

त्यस्तै जिल्ला तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता ८ सय ६० मेगावाट रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछन् ।

यी दुबै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडी बढ्न नसकेको खाँडाचक्र नगरापालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए ।

‘दुबै आयोजनाका काम अगाडि बढेको छैन्, नेपाल विद्युत् प्राधिकरणसँग दुबै आयोजनाले सम्झौता स्न २०२४ सम्म गरेका छन् ।’ उनले भने, ‘यी दुबै आयोजना निर्माण भएका स्थानीयले रोजगार पाउनुका साथै विकासको ढोका खुल्थ्यो ।’ तिला–१ र २ परियोजनाबाट कालीकोट जिल्लाका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए ।

‘आयोजनाहरूको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर, प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार त्यस क्षेत्रमा प्रसारण लाइन सन् २०२५ सम्म बन्नेछ ।’ उनले भने, ‘यी आयोजना निर्माणका लागि अहिले सबै अध्यायन पुरा भइसकेको छ ।’ दुबै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डीपीआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

चार सय केभी प्रसारण लाइन निर्माण हुँदै
कालिकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालिकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले कालिकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायतका माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत आयोजना निकासीका लागि चार केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले बताए ।

‘नेपाल विद्युत् प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालिकोटमा जग्गा खरीद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ,’ उनले भने, ‘यो चार सय केभी प्रसारण लाइन कालिकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।’

कालिकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब झण्डै १६ अर्ब लगानी लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

समृद्धिको आधार
कालिकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको समृद्धि आधार हुने स्थानीय बताउँछन् । यी आयोजनाबाट कालिकोटका हजारौंलाई रोजगारी सिर्जना हुनेछ भने, विद्युत्मा लगानी गर्ने अवसर पाउने छन् । कालिकोटमा जलविद्युत्को राम्रो संम्भावना रहेको यसको विकास हुन सकेमा जिल्लाको समृद्धिको आधार हुने पूर्व जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए ।
‘उजाड डाँडाहरूमा हामीसँग अरु आयआर्जनका खासै स्रोत छैनन् ।’ उनले भने, ‘त्यसको एउटै आधार भनेको कर्णालीमा बग्ने प्रसस्त पानी हो । त्यसैको उपभोगमार्फत मात्र जिल्लाको आर्थिक विकास हुन सक्छ ।’ जलविद्युत् आयोजनाहरु कालिकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेकाले यिनको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र संघीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

‘जलविद्युत्का ठुला आयोजना बन्नु कालिकोट र कर्र्णाली प्रदेशका लागि गौरवको बिषयमा हो ।’ उनले भने, ‘यी आयोजनाहरुका लगानीकर्ताको सुरक्षा, आयोजनाको दिगोपना र आयोजनाबाट हामीले धेरै लाभ लिन सक्छौैं ।’

दर्जनौं लघु जलविद्युत् आयोजना अलपत्र
जिल्लामा सञ्चालन रहेका र निर्माण कार्य थालिएका दर्जनौं लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट भन्दा बढी विद्युत् उत्पादन हुनसक्ने लघु जलविद्युत् आयोजनाहरू केही वजेट अभाव त केही स्थानीयको विवाद र मर्मत सम्भारको अभाव लगायतका कारणले अलपत्र अवस्थामा छन् ।

जिल्लाको तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघु जलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् ।

यस्तै, ३ किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर मर्मत सम्भारको अभाव बन्द भएको छ भने ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजना लगायतका दर्जनौैं आयोजना बजेट अभावका कारणले अलपत्र अवस्थामा छन् ।

शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलबिद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना माइक्रो हाइड्रो (१५ किवा), नरहरीनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि वजेट अभावका कारण आयोजना काम सुरु हुन सकेको छैन ।

पाँच सय किलोवाट सान्नीगाडको सञ्चालनमा रहेको र महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट उत्पादन क्षमता भएको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघु जलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना भर्ता पनि वजेट अभावले अलपत्र अवस्थमा परेका छन् ।

त्यस्तै, तिलागुफा नगरपालिकाको १०० किलोवाट क्षमता भएको बच्चुगाड लघु जलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघु जलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् ।

१५५६ मेगावाट उत्पादन क्षमताका आयोजना अलपत्र

बालबालिकाको सुरक्षाको जिम्मा कसको ?

१५५६ मेगावाट उत्पादन क्षमताका आयोजना अलपत्र

सत्ता गठबन्धन भत्कियो: एमाले, माओवादी र रास्वपाको