१२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिन सुरु

काठमाडौं : १२ देखि १७ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको फाइजर खोप दिन सुरू गरिएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीलाई मात्र फाइजर खोप दिइँदै आइएको थियो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले केही मात्रा खोप मौज्दात रहेकाले उक्त उमेर समूहका सबैलाई दिन सुरू गरिएको बताए । ‘कात्तिक २८ देखि १२ वर्षमाथिका दीर्घ रोगीलाई दिइँदै आएकामा केही खोप बचेको हुँदा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहकालाई दिन सुरू गरिएको छ ।
प्रमुख दाहालका अनुसार काठमाडौंको खोप केन्द्रहरूमा प्रतिकेन्द्र साढे ५०० को हाराहारीमा खोप मौज्दात रहेको छ । उक्त खोप करिब २८ सयलाई पुग्ने उनले बताए । यस्तै‚ खोप केन्द्र तोकिएको देशभरिका २४ वटै अस्पतालमा खोप मौज्दात रहेकाले ती ठाउँबाट पनि खोप लगाउन सकिने उनले बताए ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० मात्रा खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत कात्तिक २८ देखि लगाउन सुरु गरिएको हो। यसको दोस्रो मात्रा चार सातापछि अर्थात् मंसिर २७ देखि पुस २ सम्मका लागि तय गरिएको छ ।






