साझा घर नेपाललाई राहत वितरण

सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइलीमा रहेको साझाघर नेपाललाई राहत वितरण गरिएको छ । ‘विपद्का सारथि कर्णालीका युवाहरु’ अभियानले आइतबार खाद्यान्न तथा दाल वितरण गरेको हो ।
अभियानका संयोजक ममता अधिकारीले विपन्न तथा असाहय गरि ७९ जना बालबालिका रहेका साझा घर नेपालमा उक्त राहत सहयोग गरिएको जानकारी दिइन् ।
उनले भनिन् ‘हाम्रो टिम चारदिन अगाडि साझा घरमा पुगेका थियौँ लकडाउनको कारणले गर्दा यहाँ रहेका सडक तथा अनाथ बालबालिकाको लागि खाद्यान्न अभाव भएको पायौँ । याे स्थिती बुझेर हाम्रो अभियानले खाद्यान्न सामाग्री जुटाएर आज वितरण गरेका हौँ ।’

जसमा ३० केजीको सात बोरा चामल र २० केजी दाल वितरण गरिएको छ । साथै यस अभियानले विगत दुई हप्ता देखी निरन्तर प्रदेश अस्पताल सुर्खेतमा रहेका कोरोना संक्रमितका कुरूवालाई दैनिक रुपमा निःशुल्क पौष्टिक खाना खुवाउँदै आएको छ । ‘विपद्का सारथि कर्णालीका युवाहरू’ अभियानमा १५ युवाहरुको समुह रहेको छ ।
दैनिक ७० देखि ९५ संक्रमित र कुरूवालाई खाना खुवाउँदै आएको अभियन्ता गीता कटुवालले जानकारी दिइन् । उनका अनुसार करिब तीन महिनासम्म अभियानलाई निरन्तरता दिने उद्देश्य राखिएको छ ।







