के तोकिएकै मितिमा रिलिज होलान् ‘चिसो मान्छेदेखि कबड्डी ४’ ?

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो ।
यसैले पनि उनी भदौ ११ गतेबाट चलचित्र रिलिज हुनेमा ढुक्क थिए । चलचित्रको छायांकन सकेर जुम्लाबाट फर्किएको केही समयमै नेपालका कोरोना ह्वात्तै बढ्यो ।कोरोनाको दोश्रो लहरले जनजीवन नै अस्तव्यस्त बनाएको छ ।
दीपेन्द्र यतिबेला घरमै छन् । उनी भन्छन्–‘अब, त भदौ ११ मा चलचित्र रिलिज गर्न कसरी सकिएला र ? चलचित्रको काम त सकिन्छ । तर, माहोल नै नबनेसम्म त चलचित्र रिलिज गर्न सक्ने अवस्था रहँदैन । अब त चलचित्र कहिले रिलिज हुन्छ भन्न सकिने अवस्था नै छैन ।’
कोरोनाको पहिलो लहरले भन्दा दोश्रो लहरले पारेको असर निकै ठूलो छ । मानिसमा त्रास बढेको छ । यसैले, आम नेपालीले खोप नलगाएसम्म हलमा दर्शक फर्किने अवस्था छैन । दीपेन्द्र भन्छन्–‘अरु, क्षेत्र खुलेपनि हाम्रो क्षेत्र खुलिहाल्दैन । मनोरञ्जन क्षेत्र सबैभन्दा ढिलो खुल्ने क्षेत्र हो । यसैले, पनि चलचित्र क्षेत्र नै अब कसरी बढ्छ भन्न सकिदैन ।’
दीपेन्द्रले मात्र होइन, अन्य केही निर्माताले पनि चलचित्रको प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरेका थिए । अब, ती चलचित्र पनि रिलिज हुन्छन् या हुँदैनन् टुंगो छैन ।साउन १ गतेलाई तय गरिएको ‘डिसेम्बर फल्स’, भदौ १८ लाई तय गरिएको ‘ए मेरो हजुर ४’, असोज १ गतेलाई तय गरिएको ‘चुरिफुरी’को छायांकनको काम त सकिएको छ । तर, चलचित्र रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।
चलचित्र ‘कबड्डी ४’का निर्माताले असोज १५ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकन सुरु गर्ने तयारी गरेका थिए । तर, यो चलचित्रको छायांकन नै सुरु हुन पाएन । अब, चलचित्रको छायांकन कहिले सुरु हुन्छ पक्का छैन ।






