कर्णालीमा सडक दुर्घटना बढ्यो, २० महिनामा १६९ को मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा बितेका २० महिनामा ४ सय ९५ वटा सवारी दुर्घटना भएका छन् भने १ सय ६९ जनाको ज्यान गएको छ । जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् ।
गत बर्ष १२ महिनामा २ सय ६४ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिकाले ज्यान गुमाएका छन् । प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप÷कार ३०, टेम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा दुर्घटनामा परेका छन् । जसमा दुर्घटनामा परी १ सय १७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् ।
यस्तै गत आवमा ३१ ट्रक, ९ टिप्पर, २९ बस, २ माइक्रो बस, ४८ जिप÷कार,३६ ट्याक्टर, ३ टेम्पो, ९८ मोटरसाइकल, १४ अटो र ३ अन्य सवारी साधनहरु दुर्घटना भएका छन् । जसमा परी १ सय ८८ जना सख्त घाइते भएका छन् भने १ सय ९३ जना साधारण घाइते भएको छन् ।कर्णालीका सडक यात्राका लागि जोखिम छन् । सुरक्षित सडक नभएकै कारण कर्णालीमा बर्सेनि सयौं सवारी साधन दुर्घटना हुने गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । अव्यवस्थित तथा साँघुरो सडक र नियमविपरीत सवारी चल्नु र सडकमा जेब्रा क्रसिङको व्यवस्था नहुनुले दुर्घटनाका घटनाहरु दैनिकजसो हुने गरेको ट्राफिक प्रहरीले बताएको छ । कर्णाली प्रदेशको भविष्यसँग जोडिएको सडक हो , कर्णाली राजमार्ग । तर कर्णाली राजमार्गलाई मृत्यु मार्गको उपमा दिइएको छ। कर्णाली राजमार्ग हालसम्म पनि स्तरोन्नति नहुँदा र साँघुरो सडक भएकाले दुर्घटनाका घटनाहरु धेरै हुने गरेका छन् ।
सवारी साधन चलाउदा ध्यान नदिदा सवारी दुर्घटना हुने गरेको ट्राफिकको बुझाइ छ । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, क्षमता भन्दा बढी यात्रु बोक्नु र अस्तव्यस्त सडक, तीव्र गतिलगायत दुर्घटनाका कारण हुन् । पब्लिक हिमाल यातायात व्यावसायी प्रालिका महासचिव रमेश बरालले कर्णालीमा सवारी दुर्घटनाको मुख्य कारण चालक नभइ साँघुरा सडक, सडक सुधार नहुनु र साना सवारी साधनको अव्यवस्थित यात्रा पनि भएको बताए ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालक तथा सहचालकलाई आधा घण्टा ट्राफिक सम्बन्धि कक्षा दिने गरेको छ । प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता दीपक मग्रातीले गाडी दुर्घटना न्यूनीकरणका लागि चालक मात्रै नभइ यात्रुपनि सचेत हुनुपर्ने बताए । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।
यसैबीच कर्णाली प्रदेश सरकारले दुई वर्षअघि नै ‘सडक सुरक्षा कार्यक्रम’ गर्दै आएको छ । यद्यपि यो कार्यक्रमको प्रभावकारिता भने खासै देखिन सकेको छैन । कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानवीय क्षति भइरहेकाले सोको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको थियो ।
कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्ड लगायतमा हाई–वे प्रहरी गस्ती गरिने बताइएको थियो तर, यी सबै योजना कार्यान्वयन नै हुन नसकेको सरोकारवालाहरूले बताउने गरेका छन् ।
रातोपाटी






