सबिना बेगमसहित नरैनापुरका ११२ जना एमालेमा प्रवेश, ‘विचार, विधि र जनमतको प्रतिस्पर्धामा एमालेको विश्वास’ : केन्द्रीय सदस्य ढकाल
बाँके,२१ कार्तिक ।
बाँकेको नरैनापुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट दुई पटक गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी सबिना बेगमको नेतृत्वमा ११२ जनाभन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले नरैनापुर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बेगमसहित विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय सदस्य सूर्य ढकाललगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले एमाले आफ्नै सिद्धान्त, अनुभव र संघर्षको जगमा अघि बढिरहेको पार्टी भएको बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनलाई दिगो बनाउन समाज रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै इतिहासको गौरवले मात्रै वर्तमान र भविष्यको आधार निर्माण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

“नेकपा एमाले हिंसा र बाहुबलमा होइन, विचार, विधि, जनमत र इमानदारिताको प्रतिस्पर्धामा विश्वास गर्छ,” उहाँले भन्नुभयो, “हामी हिंसा, आगजनी र लुटपाटमा प्रतिस्पर्धा गर्न चाहँदैनौँ । इतिहासलाई वर्तमानसँग जोडेर भविष्यको यात्रा तयार गर्न चाहन्छौँ ।”
केन्द्रीय सदस्य ढकालले पछिल्लो राजनीतिक परिस्थितिका कारण राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका मुद्दा ओझेलमा परेको टिप्पणी गर्दै मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक तथा कानुनी अस्थिरता बढिरहेको दाबी गर्नुभयो ।
नरैनापुरको विकासको प्रसङ्ग उठाउँदै ढकालले खानेपानी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नरैनापुरका खरका छाना विस्थापन गरी टिनका छाना निर्माण गर्ने कार्यक्रमका लागि आफू माननीय रहेका बेला १६ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, अहिलेको सरकारले उक्त कार्यक्रमको बजेट रोकेको उहाँको आरोप थियो ।
त्यस्तै, खानेपानी आयोजनाको बजेट रोकिएको, निर्माण सम्पन्न भएको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन नभएको तथा राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाइएको सडक आयोजना बजेट अभावमा अलपत्र परेको उहाँले बताउनुभयो । २०८४ सालभित्र नरैनापुरको सीमासम्म सडक पुर्याउने लक्ष्यसहित अघि बढाइएको योजनालाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एमाले प्रवेश गर्नुभएकी सबिना बेगमले पढेलेखेका र राजनीतिक विषय बुझेका युवाहरूले नेकपा एमाले रोज्नुपर्ने बताउनुभयो । एमालेले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणका कामबाट प्रभावित भएर आफूले पार्टी परिवर्तन गरेको उहाँको भनाइ थियो ।
बेगमले भन्नुभयो, “नेकपा एमालेले अघिल्लो कार्यकालदेखि नै विकास निर्माणका क्षेत्रमा धेरै काम गरेको छ । पढेलेखेका र बुझेका युवाहरूले पनि देश र समाजको विकासका लागि राजनीतिक दल रोज्नुपर्छ भन्ने लागेर मैले एमाले रोजेकी हुँ । अब पार्टीमा रहेर इमानदारिताका साथ संगठनको काम गर्ने र गाउँसमाजको सेवामा सक्रिय रहनेछु ।”
ढकालले पार्टीमा प्रवेश गर्ने सबैलाई योग्यता, क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेमा नयाँ, योग्य तथा इमानदार व्यक्तिहरू जोडिने क्रम बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि शान्ति ढकाल, केन्द्रीय सदस्य मोहम्मद हारुन तथा नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङलगायतले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संगठन विस्तार र स्थानीय विकासका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नरैनापुर कमिटीका सचिव बिनय दीक्षितले गर्नुभएको थियो भने सभाको अध्यक्षता ताज खानले गर्नुभएको थियो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता, स्थानीय अगुवा र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।







