आमाले मातृत्व तोडिन् दिदीले राष्ट्रको रक्षक बनाइन्
सुशील खड्का
सुर्खेत, १२ चैत ।
एउटा बालक, जसले आमा भन्न सिक्दा नसिक्दै मातृत्वको न्यानो काख गुमायो । डेढ वर्षको त्यो उमेर, जहाँ पाइला टेक्न अरूको औँला चाहिन्छ, त्यही बेला प्रदिप विश्वकर्माको जीवनबाट आमाको सितल छहारी सदाका लागि ओझेल पर्यो ।
आमाले अर्कै संसार रोजिन्, अर्कै घरजम गरिन् र ती अवोध बालकलाई एउटा कहिल्यै निको नहुने प्रश्नको भारी बोकाएर हिँडिन् । तर, भनिन्छ, ‘जहाँ अन्धकार हुन्छ, त्यहीँ कतै आशाको दियो पनि बलिरहेको हुन्छ ।’ प्रदिपको जीवनमा त्यो दियो बनेर उभिए उनका बुबा र दिदी पूजा विश्वकर्मा ।
सुर्खेतको कपासेस्थित कालिबहादुर गणको परेड मैदानमा प्रदिप सैनिक बर्दीमा सजिएर । कडा परिश्रमको पसिना पुछ्दै देश सेवाको सपथ खाइरहेका थिए । त्यहीँ बेला दर्शकदीर्घामा रहेकी दिदी पूजाका आँखा गर्वले रसाएका थिए । यो जागिरको सुरुवात मात्र थिएन ।
यो एउटा टुटेको परिवारको पुनर्जन्म र अभावमाथि विजयको घोषणा थियो । पाल्पाको तिनाउँ गाउँपालिका–२, दोभानको त्यो पुरानो घर । प्रदिपका बाल्यकालका यादहरूमा आमाको तस्बिर धमिलो छ । तर आमाले छाडेर जाँदाको रिक्तता भने अझै ताजा छ । ‘मलाई आमाले किन छाड्नुभयो । उहाँले किन अर्को विवाह गर्नुभयो । त्यो कुरा खोतलेर मलाई अब आफ्नो मन दुखाउनु छैन,’ प्रदिप भावुक हुँदै भन्छन्, ‘तर एउटा मानवीय गुनासो सधैँ मनको कुनामा रहिरहनेछ, जन्माएपछि बीच बाटोमै अलपत्र किन छाडिदिनुभयो ?’
हुन पनि, प्रदिपले सुखी र खुसी जीवनको परिभाषा बुझ्नुअघि नै संघर्षको कडा पाठ पढ्नुपर्यो । घरको आर्थिक अवस्था नाजुक, त्यसमाथि मातृविहीन बाल्यकाल । तर, प्रदिपका लागि उनका बुबा र विशेषगरी दिदी पूजाले कहिल्यै आमाको अभाव पूर्ण रूपमा महसुस हुन दिएनन् । दिदी पूजाले आफ्ना कैयौँ रहरहरूलाई तिलाञ्जली दिँदै भाइको ओठमा मुस्कान सजाउने प्रयास गरिरहिन् ।
प्रदिप र पूजाको सम्बन्ध दिदीभाईको मात्र होइन । यो सम्बन्ध एउटा गुरु र शिष्यको पनि हो, एउटा संरक्षक र संरक्षितको हो । पूजा आफैँ पनि संघर्षको प्रतिमूर्ति हुन् । भाइलाई हुर्काउँदै, समाजका कैयौँ तीता–मीठा अनुभवहरू सँगाल्दै उनले आफूलाई नेपाल प्रहरीको सेवामा समर्पित गरिन् ।
आफू सुरक्षा निकायमा रहेर समाजको रक्षा गरिरहँदा उनले घरभित्र एउटा अर्को रक्षक तयार पारिरहेकी थिइन् । उनले भाइलाई सधैँ एउटै कुरा भनिन, ‘बाबु, हाम्रो सहारा कोही छैन, हाम्रो सहारा हाम्रो पसिना र इमानदारिता मात्र हो ।’ दिदीको यही मार्गदर्शनले प्रदिपलाई गलत बाटोमा जानबाट रोक्यो र उनलाई एक अनुशासित युवाको रूपमा उभ्यायो ।
प्रदिप गर्वका साथ भन्छन्, ‘म आज जे छु, जहाँ छु, त्यो सबै मेरी दिदीको प्रेरणा र त्यागको जगमा उभिएको छु ।’ माध्यमिक शिक्षा परीक्षा (एसईइ) उत्तीर्ण गरेपछि प्रदिपको मनमा एउटै हुटहुटी थियो, देशको सेवा गर्ने र परिवारको आर्थिक बोझ हल्का गर्ने । उनले नेपाली सेनामा भर्ना हुने दृढ संकल्प गरे । जब सेनाको भर्ना खुल्यो, उनी आफ्नो सपनाको आवेदन बोकेर बागलुङ पुगे ।
शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा र अन्तर्वार्ताका प्रत्येक चरणहरू उनका लागि चुनौतीपूर्ण थिए । तर उनको पछाडि दिदीको भरोसा र बुबाको आशीर्वादको शक्ति थियो । अन्ततः उनी छनौंट भए । तालिमका लागि उनलाई नयाँ ठाउँ सुर्खेत वीरेन्द्रनगरस्थित कपासेमा रहेको काली बहादुर गण पठाइयो ।
ब्यारेक भित्रका कठोर तालिम, राति–बिहानको दौड र कडा अनुशासनले प्रदिपलाई एउटा कच्चा धातुबाट धारिलो तलवार बनायो । भर्खरै सम्पन्न दीक्षान्त समारोहमा प्रदिपको चेहरामा देखिएको त्यो चमक कुनै ठुलो युद्ध जितेको योद्धाको भन्दा कम थिएन ।
प्रदिपको यो व्यक्तिगत सफलता एउटा वृहत्तर राष्ट्रिय उत्सवको हिस्सा पनि थियो । उनीसँगै देशभरका एक सय आठ जना नवप्रवेशी सैनिक सिपाहीहरूले तालिम सम्पन्न गरी कार्यक्षेत्रमा जाने अनुमति पाएका छन् । सैनिक तालिमका क्रममा पनि प्रदिप अनुशासित र ऊर्जावान् प्रशिक्षार्थीको रूपमा चिनिएको कालिबहादुर गणले जनाएको छ ।
शारीरिक व्यायाम होस् या सैद्धान्तिक ज्ञान, उनले हरेक विधामा आफ्नो श्रेष्ठता कायम गर्ने गरेको गणले बताएको छ । विशेष गरी ड्रिल र शारीरिक अभ्यासमा उनको प्रदर्शन प्रशंसनीय रहेको र मिलनसार स्वभावका कारण प्रशिक्षक र साथीहरूका बीचमा प्रिय सिपाही थिए । सुर्खेतमा तालिम सकेपछि प्रदिपको दरबन्दी अब रामेछापस्थित खड्क दल गणमा भएको छ ।
सुर्खेतको कपासे ब्यारेक जहाँ उनले सिपाही बन्ने कखरा सिके, त्यहाँबाट बिदा हुँदै गर्दा केही भावुक पनि देखिए । तर, उनको मनमा अब कार्यक्षेत्रमा गएर आफ्नो क्षमता प्रदर्शन गर्ने तीव्र इच्छा छ । दिदी पूजाले भाइको निधारमा टीका लगाइदिँदै गर्दा दुवैको मनमा हर्षका आँशु पोखिएका थिए । संघर्ष र लगनशीलता भएमा जात, धर्म वा पारिवारिक अभावले सफलताको बाटो छेक्न सक्दैन ।
समारोहमा उत्तर पश्चिम हेडक्वाटरका पृतनापति उपरथी दिपेश जंग शाहले भने, ‘आजदेखि तपाईँहरूको शिरमा रहेको टोपी र जिउमा रहेको बर्दी कपडा मात्र होइन, यो तीन करोड नेपालीको आशा र भरोसा हो ।’ माटोले माग्दैन, आफैँले दिनुपर्छ भन्दै उनले सेनाको गौरवशाली इतिहाँसलाई जोगाउन र भविष्यमा आउन सक्ने जस्तोसुकै चुनौतीलाई पनि प्रविधि र सीपका माध्यमबाट सामना गर्न जवानहरूलाई निर्देशन दिए । सेनाको दायित्व भनेको भविष्यको खतरालाई मध्यनजर गर्दै संधै चुस्त–दुरुस्त बनाइराख्नु रहेको उनले बताए ।





