रसुवाको बाढीपछि कोहलपुरका ११ जना अझै सम्पर्कविहीन, खोजी तीव्र

कोहलपुर,१४ भदौ ।
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोहलपुर नगरपालिकाका विभिन्न वडाका ११ जना हालसम्म सम्पर्कविहीन रहेको पाइएको छ। उनीहरूको खोजी, पहिचान तथा अवस्थाबारे जानकारी संकलनका लागि स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइएको छ।
कोहलपुर नगरपालिका–२ का वडा अध्यक्ष तथा खोज तथा उद्धार समन्वय समितिका सदस्य हरिसिंह कठायतले बाढीपछि कोहलपुरका केही नागरिक सम्पर्कविहीन रहेको जानकारी दिँदै उनीहरूको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो।

उहाँका अनुसार हालसम्म कोहलपुर नगरपालिका–११ निवासी दुई जनाको आफन्तजनले शवको सनाखत गरी अन्त्येष्टिसमेत सम्पन्न गरिसकेका छन्। बाँकी व्यक्तिहरूको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनुभयो।
कठायतका अनुसार खोजी तथा पहिचान कार्यलाई प्रभावकारी बनाउन चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी बेपत्ता परिवारका सदस्यहरूको विवरण उपलब्ध गराइएको छ। साथै मध्यविन्दु प्रादेशिक अस्पताल, नगर अस्पताल चोरमारा, वाणिज्य संघको शव व्यवस्थापन स्थल, भेडाबारी, रामग्राम–५ परासी, पृथ्वीचन्द्र अस्पताललगायत चितवनमा शव व्यवस्थापन गरिएका विभिन्न स्थानमा पुगेर शवसम्बन्धी विवरण संकलन गरिएको उहाँले बताउनुभयो।
संकलित विवरण आवश्यक समन्वयका लागि कोहलपुर नगरपालिकामा पठाइसकिएको र पहिचान तथा खोजी कार्यलाई थप व्यवस्थित बनाइएको कठायतले जानकारी दिनुभयो।
बाढीपछि सम्पर्कविहीन हुनेमा कोहलपुर–११ का दीपक थारु, अम्मर सिंह थारु, पृथ्वी थारु, आसा राम थारु र पृथ्वी थारु (बाबुछोरा), कोहलपुर–१२ का वीरेन्द्र जोशी र सत्य जोशी (श्रीमान्–श्रीमती), मोहननाथ योगी, कोहलपुर–१ का ताराकुमार बुढामगर र पवित्रा कुमारी बुढामगर, कोहलपुर–२ बर्दहवाका रामकुमार थारु तथा कोहलपुर–११ का नकुल शर्मा रहेको परिवारजनले जनाएको छ।
उनीहरूमध्ये केही रसुवा भन्सार, रसुवाको क्रान्ति बजार तथा आसपासका क्षेत्रमा कार्यरत वा पुगेका अवस्थामा बाढीपछि सम्पर्कविहीन भएको बताइएको छ।
सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तजनलाई शवको विवरण र पहिचानका लागि कोहलपुर नगरपालिकाको नगर प्रहरी शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै कसैलाई बेपत्ता व्यक्तिहरूको अवस्थाबारे कुनै सूचना प्राप्त भएमा तत्काल सम्बन्धित परिवार वा खोज तथा उद्धार समन्वय समितिलाई जानकारी गराउन अनुरोध गरिएको छ।

खोज तथा उद्धार समन्वय समितिका संयोजक वीरेन्द्रकुमार शाहसहित हरिसिंह कठायत, सुदन ढकाल, गंग बि.क. र राजेन्द्र विश्वकर्मालाई पनि आवश्यक सूचना उपलब्ध गराउन सकिने जनाइएको छ।
समितिले बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानमा सहयोग पुग्ने भएकाले सूचना व्यापक रूपमा साझा गरिदिन सबैलाई आग्रह गरेको छ। परिवारजनले आफ्ना आफन्त सकुशल भेटिने आशा राख्दै खोजी कार्यमा सहयोगका लागि सबैसँग अपिल गरेका छन्।






