सुर्खेतका ध्रुवकुमार थापामगर रास्वपाको केन्द्रीय सदस्य, सच्याइएको सूचीमा पाए आधिकारिक मान्यता

सुर्खेत ,१६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएसँगै सुर्खेतका युवा नेता ध्रुवकुमार थापामगर पार्टीको केन्द्रीय सदस्यमा आधिकारिक रूपमा निर्वाचित भएका छन्। आयोगले मत परिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययनपछि जनजाति क्लस्टरतर्फ थापामगरलाई निर्वाचित घोषणा गरेको हो।
प्रथम राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक गरिएको प्रारम्भिक सूचीमा क्लस्टर व्यवस्थापनका क्रममा त्रुटि भएको भन्दै उम्मेदवारहरूबाट गुनासो आएपछि केन्द्रीय निर्वाचन आयोगले मत परिणाम र आवश्यक कागजातहरूको पुनः अध्ययन गरेको थियो। सोही अध्ययनका आधारमा यसअघि केन्द्रीय सदस्य घोषित कृष्णमान श्रेष्ठको स्थानमा ध्रुवकुमार थापामगरलाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ।

आयोगको निर्णयमा महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ बमोजिम मत परिणाम, उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात तथा प्रमाणहरूको अध्ययन गर्दा ध्रुवकुमार थापामगर नै जनजाति क्लस्टरतर्फ निर्वाचित भएको पुष्टि भएकाले उहाँलाई केन्द्रीय सदस्य घोषणा गरिएको उल्लेख गरिएको छ।
यसैगरी प्रादेशिक (भूगोल) क्लस्टरतर्फ गण्डकी प्रदेशबाट पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा त्रुटिवश सोम शर्माको नाम समावेश भएको पाइएपछि आयोगले सूची सच्याएर बास्तोलालाई पनि केन्द्रीय सदस्य घोषणा गरेको छ।
ध्रुवकुमार थापामगर रास्वपाका सुर्खेतका सक्रिय युवा नेताका रूपमा परिचित हुनुहुन्छ। पार्टी स्थापना भएयतादेखि नै उहाँ कर्णाली प्रदेशमा संगठन विस्तार, सदस्यता अभियान, युवाको राजनीतिक सहभागिता, सुशासन, पारदर्शिता तथा वैकल्पिक राजनीतिक अभ्यासलाई सुदृढ बनाउन सक्रिय रहँदै आउनुभएको छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म संगठन निर्माण र पार्टीलाई जनस्तरसम्म स्थापित गर्न उहाँले निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएको छ।
थापामगरको केन्द्रीय सदस्यमा निर्वाचनसँगै रास्वपाको केन्द्रीय नेतृत्वमा कर्णाली प्रदेश तथा विशेषगरी सुर्खेतको प्रतिनिधित्व थप मजबुत बनेको राजनीतिक वृत्तमा चर्चा छ। उहाँको चयनले कर्णालीका विकास, सुशासन, रोजगारी, पूर्वाधार र युवासँग सम्बन्धित मुद्दाहरूलाई पार्टीको केन्द्रीय तहमा अझ प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रास्वपाले महाधिवेशनपछि सार्वजनिक गरेको सूचीमा देखिएको त्रुटि सच्याउँदै वास्तविक मत परिणामअनुसार प्रतिनिधित्व सुनिश्चित गरेसँगै ध्रुवकुमार थापामगरको केन्द्रीय सदस्यमा भएको निर्वाचनले सुर्खेतका रास्वपा कार्यकर्ता तथा समर्थकमाझ उत्साह थपेको छ।






