विजयनगर क्षेत्रमा आफै उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट

काली बहादुर परियार
जुम्ला ,१६ जेठ ।
जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगर क्षेत्रमा आफै उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ । लागूऔषध नियन्त्रण तथा समाजमा लागूपदार्थको दुरुपयोग न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय जुम्लाले गाँजा फडानी अभियान सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ६ अन्तर्गत विजयनगर क्षेत्रको बाटो किनार तथा सार्वजनिक स्थानमा उम्रिएका गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
स्थानीय बासिन्दाको आवतजावत हुने सडक छेउ तथा खुला क्षेत्रमा उम्रिएका गाँजाका बोटहरू भविष्यमा लागूऔषध उत्पादन तथा दुरुपयोगको माध्यम बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी टोलीले अभियान सञ्चालन गरेको बताए ।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि कानुनी कारबाही सँगै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको डिएसपी दाहालले जानकारी दिए ।
पछिल्लो समय युवापुस्तामा लागूऔषधको प्रयोग र यसको असर बारे विभिन्न तहमा चिन्ता बढिरहेका बेला यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले गाँजा तथा अन्य लागूऔषधजन्य वनस्पतिको खेती, उत्पादन, ओसारपसार र सेवन कानुन विपरीत कार्य भएको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि समुदायको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आफ्ना क्षेत्रभित्र कतै गाँजा खेती गरिएको वा स्वतः उम्रिएको अवस्थामा देखिएमा सम्बन्धित निकाय वा प्रहरीलाई जानकारी गराउन स्थानीयलाई आग्रह गरेको छ ।
लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी, स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रहरीले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा यस्ता अनुगमन तथा फडानी अभियानलाई निरन्तरता दिने जनाएको छ ।






