जुम्लामा जातीय विभेदः महिला प्रहरीकाे नियन्त्रणमा

गाेल्डेन बुढा
जुम्ला,१६ चैत।
जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढा जातीय विभेद गरेको आरोपमा चैत १६ गते प्रहरीले पक्राउ गरेको छ। चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक सार्वजनिक होटलमा सोही गाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।घटनापछि अपशब्द प्रयोग गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डिएसपी रविनबाबु रेग्मीले बताए। उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।आइतबार बेलुका सार्वजनिक भएको एक मिनेट ३४ सेकेन्डको भिडियोमा आरोपितले ‘डुम भनेका डुम हुन्। भैंसा मासु खान्छन्। म डुमै भुन्यौं, डुम किन नभुन्या। मेरा घर दसैंमा पुच्छुर लिन आउँछन्’ लगायतका अभिव्यक्ति दिएको सुनिन्छ। उनले नजिकै रहेका अन्य महिलालाई साक्षी राख्दै ‘किन डुम नभुन्ने, डुम नभुन भुन्या मकन, आफ्नो व्यवहार नदेखाउनु पऱ्यो क्या’ भन्दै आक्रोश व्यक्त गरेकी छन्।त्यस क्रममा नजिकै उभिएका राजबहादुर सुनारले ‘तेरोमा को पुच्छर लिन आउँछ, त्यही भन्नु जा’ भन्दै सामान्य प्रतिकार गरेको देखिन्छ। पुनः आरोपितले ‘मैले डुम भुन्न पाएन तिमी कन तोकि कन भन्या छु, तो दाइ डुम होस् भुन्या छु’ भन्दै आफूलाई बचाउन खोजे जस्तो देखिन्छ।
भिडियोमा उनी ‘मा कसम म पनि ओभरै छु’ भन्दै नजिकै रहेकी एक महिलालाई देखाउँदै ‘दसैंको बेला भाउजु सूर्य कसम घरपैसो गर्ने बेला दमाह बजाउन आउने अनि मैले नभन्या, मेरो घर विवाहताका बिउ माग्न आउने अनि मैले डुम नभुन्न पाउन्या’ भन्ने अभिव्यक्ति दिन्छिन्। त्यस्तै, होटलमा रहेका अन्य व्यक्तिलाई ‘दाइ तपाईहरू दुःख नमान्नु होला, मैले भन्न पाएकी पाएन’ भन्दै चर्को स्वरमा बोल्दै गरेको देखिन्छ।वरिपरि बसेकाले उनको बोल्ने तरिका उपयुक्त नभएको भन्दै सम्झाइरहेका बेला उनले ‘म कत जाक (प्रहरीमा हाल), मेरो जेठा बा निकाली हाल्छ’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएको भिडियोमा देखिन्छ।घटनापछि भिडियो भाइरल भएसँगै दलित समुदायसँग सरोकार राख्ने विभिन्न पक्षहरूले आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। तत्काल कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ।






