चन्दननाथ कांग्रेस सभापतिमा रवि थापा

गोल्डेन बुढा

जुम्ला ,१३ असोज।
नेपाली कांग्रेस चन्दननाथ नगरपालिकाको नगर सभापतिमा रवि थापा निर्वाचित भएका छन्। नगर अधिवेशनमा भएको निर्वाचनमा थापाले १ सय २६ मत प्राप्त गर्दै सभापतिमा पुनः निर्वाचित भएका हुन्। उनी यसअघि पनि नगर सभापति थिए।कुल २ सय ३४ मत खसेको निर्वाचनमा थापाका प्रतिद्वन्द्वी निवर्तमान नगर कमिटी सचिव मक्करबहादुर रावलले ६८ मत प्राप्त गरे। निर्वाचनमा ४० मत बदर भएको निर्वाचन अधिकृत सर्जन रोकायाले जानकारी दिए। उनका अनुसार ६ मत अनुपस्थित भएका थिए।सभापतिमा पुनः निर्वाचित थापा यसअघि पनि चन्दननाथ नगर कांग्रेसको नेतृत्वमा थिए। नगर अधिवेशनमा सभापतिबाहेक अन्य सबै पदमा भने निर्विरोध नेतृत्व चयन भएको छ।नगर उपसभापतिमा हस्त सार्की र हिमाली शाही, सचिवमा दुर्लभ खत्री तथा सहसचिवमा टोपबहादुर रोकाया निर्विरोध चयन भएका छन्। सदस्यमा कन्न कुलाल, भक्तिप्रसाद आचार्य, तपेन्द्र उपाध्याय, तपेन्द्रकुमार शाही, नन्दबहादुर बुढा, दलबहादुर सुनार र बिर्ष गिरी चयन भएका छन्।

 

दलित सदस्यमा युवा सार्की सुनार तथा महिला सदस्यमा पद्मकन्या चौलागाईं निर्विरोध भएका छन्।जुम्लाका आठ स्थानीय तहका ६० वडाको अधिवेशन सम्पन्न गर्ने चरणमा पुगेका बेला चन्दननाथ नगरपालिकामा भने सभापति पदका लागि निर्वाचन भएको हो। नगर सभापतिका लागि प्रेम रोकाया पनि उम्मेदवारका रूपमा देखिएका थिए। तर उनले अधिवेशनको अघिल्लो दिन उम्मेदवारी फिर्ता लिएपछि थापा र रावलबीच प्रतिस्पर्धा भएको हो।जिल्लाका अन्य स्थानीय तहमा भने नेतृत्व चयन सहमतिमै टुंगिएको छ। पातारासी गाउँपालिका सभापतिमा मानवबहादुर बुढा, गुठीचौरमा टेकबहादुर भण्डारी, तिलामा नन्दबहादुर शाही, सिंजामा तिलाचन्द्र चौलागाईं, कनकासुन्दरीमा जगदिश उपाध्याय र हिमा गाउँपालिकामा दन्तबहादुर शाही सभापतिमा चयन भएका छन्।तातोपानी गाउँपालिकामा भने सभापति चयनका लागि रस्साकस्सी देखिएको छ। त्यहाँ गाउँपालिका सभापतिका लागि चार जना उम्मेदवार मैदानमा देखिएका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा सहमतिबाट नेतृत्व चयन भइरहँदा तातोपानीमा भने निर्वाचन हुने सम्भावना बढेको कांग्रेस नेताहरूले बताएका छन्।यसैबीच नेपाली कांग्रेसको संस्थापन इतर पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले जुम्लाका लागि केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजक मनोनयन गरेको छ। समितिले कनकासुन्दरी गाउँपालिका–४ का दिपेन्द्र हमाललाई केन्द्रीय प्रतिनिधि र चन्दननाथ नगरपालिका–२ का हेम बुढ्थापालाई जिल्ला संयोजकमा मनोनयन गरेको जनाएको छ।

चन्दननाथ कांग्रेस सभापतिमा रवि थापा

बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित

Leave a comment

Your email address will not be published. Required fields are marked *