धुवाँरहित चुलोले घटाउँदैछ दाउराको खपत घरभित्रको प्रदूषण र स्वास्थ्य जोखिम

बाँके, ११ भदौ ।
बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणसँगै दाउराको खपत घटाउने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण अभियान सुरु गरेको छ । हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सुधारिएको चुलो वितरण थालिएको हो ।
अभियानअन्तर्गत पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर २ र ३ का २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप घरधुरीमा चुलो पुर्याउँदै कुल ७ सय ६७ घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।
कार्यक्रमका लागि गाउँपालिकाले ६ लाख ९० हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको छ भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारी ३६ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । कार्यक्रमको कुल लागतमा हरित जलवायु कोषको ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत, गाउँपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ ।
परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी गृहिणी तथा परिवारका अन्य सदस्यमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको अवस्थामा सुधारिएको चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम दाउरामा खाना पकाउन सकिने भएकाले दाउरा सङ्कलनमा लाग्ने समय, श्रम र खर्चसमेत घट्ने गाउँपालिकाको भनाई छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले नागरिकको स्वास्थ्य संरक्षणसँगै स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि सुधारिएको चुलोको प्रयोगलाई प्राथमिकतामा राखिएको बताए । सुधारिएको चुलोले दाउराको खपत घटाउनुका साथै चुलोको कार्यदक्षता बढाउने र भान्साभित्रको धुवाँ नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
“सुधारिएको चुलोको प्रयोगले धुवाँमा रहेका हानिकारक कण तथा ग्यासको मात्रा धेरै हदसम्म घटाउन सहयोग गर्छ । यसबाट दम, खोकी, निमोनिया, श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी समस्या, आँखा चिलाउने र टाउको दुख्नेजस्ता समस्याको जोखिम कम गर्न मद्दत पुग्छ,” अध्यक्ष खाँले भने ।
उनले गाउँपालिकाका सबै सम्भावित घरधुरीमा सुधारिएको चुलो पुर्याउने लक्ष्यसहित कार्यक्रमलाई क्रमशः विस्तार गरिने बताए । स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण र नागरिकको स्वास्थ्य सुधारलाई जोड दिँदै कार्यक्रम अघि बढाइएको उनको भनाई छ ।
सुधारिएको चुलो पाएपछि स्थानीय गृहिणीसमेत उत्साहित भएका छन् । स्थानीय नुरबानो खाँले नयाँ चुलो प्रयोग गर्न थालेपछि भान्साको काम सहज हुनुका साथै दाउरा र समय दुवैको बचत भएको बताए ।
“यसअघि भान्सा गर्न निकै समस्या हुन्थ्यो। अहिले सहज भएको छ । थोरै दाउरामा छिट्टै खाना पाक्ने भएकाले समय र दाउरा दुवैको बचत भएको छ,” उनले भने । सुधारिएको चुलोका कारण भान्साकोठा सफा र व्यवस्थित हुनुका साथै धुवाँको समस्या पनि कम भएको उनले बताए । “पहिले भान्सा गर्नुपर्दा निकै गाह्रो लाग्थ्यो । अहिले चुलो सुधारिएपछि भान्साकोठा पनि चिटिक्क परेको छ,” उनले भने ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पहिलो चरणमा २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको जानकारी दिए । लक्षित घरधुरीसम्म चुलो पुर्याउन ढुवानी तथा वितरणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
“सुधारिएको चुलोको प्रयोगले दाउरा सङ्कलनमा लाग्ने समय र श्रम घटाउनुका साथै परिवारको आर्थिक भारसमेत कम गर्न सहयोग पुग्छ । घरभित्रको धुवाँ कम हुँदा नागरिकको स्वास्थ्यसँगै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ,” उपाध्यायले भने ।
उनले सुधारिएको चुलोको प्रभावकारी प्रयोग, संरक्षण र निरन्तरताका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रमको आर्थिक व्यवस्थापन तथा लागत साझेदारीमा पारदर्शितालाई प्राथमिकता दिइएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले बताए ।
चुलो वितरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो। कार्यक्रममा वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, वडा नम्बर १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नम्बर ३ का अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, सूचना प्रविधि अधिकृत विकास जिसी, योजना शाखा प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपी चौलागाई, जिन्सी शाखा प्रमुख राजु यादव र सामाजिक परिचालक निरा हमाललगायतको सहभागिता थियो ।
गाउँपालिकाले सुधारिएको चुलो वितरणलाई चुलो बाँड्ने कार्यक्रमका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य संरक्षण, दाउराको खपत न्यूनीकरण, वातावरण संरक्षण तथा गृहिणीको समय र श्रम बचत गर्ने एकीकृत अभियानका रूपमा अघि बढाएको जनाएको छ । लागत साझेदारीमा सञ्चालित अभियानले स्थानीयस्तरमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्दै परम्परागत चुलोबाट हुने धुवाँजन्य जोखिम न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






