सीमा नाकामा सुरक्षा कडाई : परिचयपत्र नभए आवतजावतमा रोक

बाँके, १० भदौं ।
बाँकेको नेपाल–भारत सीमा नाकामा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जमुनाहा नाका सहित सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय सुरक्षा निकायले निगरानी बढाएका हुन् ।
सीमा सुरक्षा थप सुदृढ बनाउन नेपाल–भारत आवतजावत गर्ने व्यक्तिको परिचय खुल्ने आधिकारिक कागजातलाई अनिवार्य गरिएको सुरक्षा निकायले जनाएको छ । सशस्त्र प्रहरीले सीमा पार गर्ने व्यक्तिको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य आधिकारिक परिचयपत्रका आधारमा नाम, ठेगाना लगायतका विवरण अभिलेख राखेर मात्रै आवतजावत गर्न दिने जनाएको छ ।
भारततर्फ पनि सीमा सुरक्षा बल (एसएसबी) ले परिचय खुल्ने कागजातका आधारमा यात्रुको जाँच गर्दै सुरक्षा निगरानीलाई कडाइ गरेको जमुनाहा प्रहरी चौकीले जनाएको छ । दुवै देशका सुरक्षा निकायबीच समन्वय गरी नियमित संयुक्त गस्ती सञ्चालन गर्नुका साथै आवश्यकताअनुसार तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा सुरक्षा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा स्थानीय नागरिक तथा सामाजिक अभियन्ताहरूले जोड दिएका छन् । नेपालगञ्जका सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले सीमा पार गर्ने व्यक्तिको परिचय र आवतजावतलाई व्यवस्थित अभिलेख प्रणालीमा जोड्दै सीसीटीभी क्यामेरा तथा ड्रोनमार्फत निगरानी बढाउनुपर्ने बताए ।
बाँकेमा विशेषगरी लागूऔषध ओसारपसार, मानव तस्करी, चोरी–डकैती तथा अन्य हिंसात्मक र आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले नेपालगञ्जका विभिन्न चोक तथा संवेदनशील क्षेत्रमा गस्ती बढाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षा निगरानी र गस्ती बढाइएपछि पछिल्लो समय जिल्लामा आपराधिक घटनामा केही कमी आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलका सुनिल सिंह हमालले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आधुनिक प्रविधिमैत्री सुरक्षा प्रणाली अपनाउन सके अपराध न्यूनीकरणमा थप सहयोग पुग्ने बताए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले नेपाल–भारत सीमा क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिए । उनका अनुसार भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नियमित समन्वय र गस्ती भइरहेको छ भने सीमा क्षेत्रमा कडा जाँच तथा आधिकारिक परिचयपत्रका आधारमा आवतजावत गर्ने व्यवस्था लागू गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमा क्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको बताए । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायबीचको सहकार्यसँगै नागरिकको सहयोगसमेत आवश्यक रहेको उल्लेख गरे ।
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएसँगै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, अपराध नियन्त्रण सुरक्षा निकायको मात्रै जिम्मेवारी नभई नागरिकको पनि उत्तिकै भूमिका रहने देखिन्छ । आफ्नो घर, टोल र समाजमा हुने शंकास्पद गतिविधिप्रति सचेत हुँदै त्यस्ता गतिविधिबारे समयमै सुरक्षा निकायलाई जानकारी गराउन सके सीमा क्षेत्रसहित समग्र जिल्लामा अपराध न्यूनीकरण गर्न थप सहयोग पुग्ने देखिन्छ ।






