किसानको तथ्यांक संकलन गर्न विद्यार्थी परिचालन गरिने

सुर्खेत ,९ भदौ ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र भेरीगंगा नगरपालिकाबीच किसान दर्ता प्रणालीका लागि आवश्यक किसानसम्बन्धी तथ्यांक संकलन तथा अद्यावधिक गर्न कृषि अध्ययनरत विद्यार्थी परिचालन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डिन डा. करन सिंह धामी र भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको हो।
समझदारीअनुसार कृषि अध्ययनरत विद्यार्थीलाई स्थानीय तहमा परिचालन गरी किसान दर्ता प्रणालीका लागि आवश्यक तथ्यांक संकलन तथा अद्यावधिक गरिनेछ। संकलित तथ्यांकलाई व्यवस्थित गर्दै किसान परिचयपत्र वितरण तथा किसानलाई उपलब्ध गराइने कृषि सेवा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
नगरपालिकामा रहेका किसानको यथार्थ विवरण संकलन भएपछि कृषि क्षेत्रका योजना तथा कार्यक्रमलाई आवश्यकताका आधारमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, किसानलाई लक्षित गरी अनुदान, प्रविधि, बीउबिजन, मल तथा अन्य कृषि सेवाको पहुँच विस्तारमा समेत तथ्यांकले सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस सहकार्यले स्थानीय तहमा कृषि क्षेत्रसम्बन्धी तथ्यांकलाई व्यवस्थित र डिजिटल बनाउनुका साथै तथ्यमा आधारित कृषि योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, कृषि शिक्षा अध्ययनरत विद्यार्थीले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई स्थानीय स्तरमा प्रयोग गर्ने अवसर पाउनेछन्। विद्यार्थीको व्यावहारिक सिकाइसँगै स्थानीय तहको डिजिटल कृषि शासनलाई प्रभावकारी बनाउन यो सहकार्य महत्वपूर्ण हुने बताइएको छ।






