भोलीदेखि भारी वर्षाको सम्भावना आवश्यक उच्च सतर्कता अपनाउन  प्रदेश सरकारको आग्रह

ओम शाही

सुर्खेत, ८ असोज । 

कर्णाली प्रदेश सरकारले भोली ९ असोज (शुक्रबार) देखि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा ५ असोजमा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी ९ असोजदेखि ११ असोजसम्म (शुक्रबारदेखि आइतबार) प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएपछि आवश्यक सतर्कता अपनाउन कर्णाली सरकारले जोखिमयूक्त क्षेत्रका नागरिकलाई आग्रह गरेको हो । 

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, ग्रेगान बहाबको जोखिम हुन सक्ने भन्दै प्रदेश भित्रका सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अवस्थामा रहन सरकारको निर्देशन छ । अत्यधिक वर्षा भइरहेको रातको समयमा जोखिमयुक्त सडकमा सकेसम्म यात्रा नगर्न प्रदेश सरकार भनेको छ । 

यात्रा गर्नैपर्ने अवस्थामा सडकको अवस्था र स्थानीय प्रशासन तथा यातायातसम्बन्धी सूचना बुझेर मात्र गर्न भनिएको छ । सम्बन्धित जिल्ला, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायहरूले आम सर्वसाधारणलाई सुसूचित गराई आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले जानकारी दिए  । 

‘सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहोव बढेको अवस्था देखिएमा जोखिम मोलेर बाटो पार नगर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘सुरक्षित स्थानमा रोकिने र सम्बन्धित निकायलाई जानकारी गराउने ।  सम्बन्धित निकायले जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तथा साधनहरू तयारी अवस्थामा भनिएको छ ।’ 

उनका अनुसार जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको सबैले पालना गर्न भनिएको छ । जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले पूर्वसूचनाको आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपद् हुनुपूर्व नै सुरक्षित ठाउँमा स्थानान्तरणमा आवश्यक पहल गर्न सरकारले भनेको छ । 

त्यस्तै, आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनारका बस्ती, पहिरोको जोखिमयुक्त स्थान लगायतका क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई विशेष चनाखो भई सुरक्षित स्थानमा सर्न भनिएको छ । नदी तथा खोलाको किनारमा पानीको सतह तीव्र रूपमा बढ़दै गएको, पानी धमिलो भएको, ढुंगा वा रुख बगाउँदै आएको देखिएमा वा असामान्य आवाज आएको सुनिएमा तुरुन्तै अग्लो र सुरक्षित स्थानतर्फ जान सरकारले भनेको छ । 

६ हजार प्रहरी जनशक्ति स्ट्यान्डबाई

मौसम विभागको चेतावनीपछि कर्णाली प्रदेशभर विपद् प्रतिकार्यका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठोरले मौसमजन्य विपद्पछि आइपर्न सक्ने जोखिमलाई व्यवस्थापन गर्न यसअघि प्रहरीको १६ सय बढी जनशक्ति स्ट्यान्डबाई राख्ने गरिएकोमा अहिलेको विशिष्ट परिस्थितिबाट सिर्जना हुन सक्ने जोखिमसँग प्रतिकार्य गर्न ६ हजार बढी जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताए । 

मौसममा सुधार नआएसम्म अति आवश्यक बाहेक प्रहरीलाई बिदामा बस्न नदिइएको उनले बताए । ‘मौसमजन्य विपद्सँग लड्न उद्धार सामग्रीसहितका प्रहरी युनिटहरु तयारी अवस्थामा छन् । सकभर विपद् नआओस भन्ने हो, आइहाले पनि त्यसको क्षति न्यूनिकरण गर्न प्रहरी डटेर लाग्छ,’ राठोरले भने । 

उनले आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेनाका तालिम प्राप्त जनशक्ति विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको बताए । विपद्को प्रकृति अनुसार उद्धार र राहत कार्यका लागि नेपाली सेनाको पश्चिम एयर बेस सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताइएको छ ।

पाँच स्थानबाट प्रदेश राजधानी जोड्ने सडकको निगरानी

मौसम विभागले भारी वर्षाको चेतावनी दिएपछि कर्णालीमा बाढी, पहिरो र कटानका कारण सडक सञ्जाल विच्छेद हुन नदिन पाँच स्थानबाट २४ सैं घण्टा निगरानी गरिने छ । सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर रुपेश कठायतले वर्षापछि सडक अवरुद्ध हुन सक्ने जोखिमका बीच पाँच स्टेसनबाट सडकको निगरानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । 

‘कर्णालीका विभिन्न सडकहरुमा वर्षाका कारण आउन सक्ने अवरोधलाई क्वीक रेस्पोन्स गर्न पाँचवटा स्टेसन तोकेर लोडर, ब्याक हो लोडरसहितको जनशक्ति स्ट्यान्डबाई राखेका छौँ,’ उनले भने, ‘कर्णालीका प्रमुख र यीनका सहायक राजमार्ग, स्थानीय तह जोड्ने रणनैतिक महत्वका सडक अवरुद्ध हुन नदिन उपकरणसहितको टोली तयारी अवस्थामा रहन्छ ।’ प्रदेश राजधानी सुर्खेत भित्रने पूर्वमा मदन भण्डारी राजमार्ग, छिन्चु जाजरकोट भेरी कोरिडोर र कोहलपुर–सुर्खेत रत्न राजमार्ग लगायतका सडकमा हुनसक्ने सम्भावित अवरोध तत्काल हटाउन बोटेचौरमा लोडर, ब्याक हो लोडर लगायतका पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखिएको उनले बताए । 

त्यस्तै, कर्णाली राजमार्गको तल्लो डुंगेश्वर, राकम कर्णालीमा पनि बाढी तथा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । सुर्खेत–दैलेख खण्डमा दैलेखको गुराँस गाउँपालिकाको तालपोखरीमा अवरोध हटाउने स्टेसन राखिएको छ । 

मध्यपहाडी राजमार्ग त्योभन्दा माथि महाबुतर्फको सडकमा आउन सक्ने अवरोध हटाउन उपकरणसहित दैलेख बजारमा स्टेसन राखिएको सूचना अधिकारी कठायतले जानकारी दिए । उनका अनुसार सडक डिभिजन रुकुम पश्चिम र जुम्लाले पनि वर्षापछि अवरोध हुन सक्ने सडकको निगरानी गर्नेछन् । 

समस्या पर्दा यसरी लिनुहोस् सहयोग

प्रदेश सरकारले वर्षाका कारण निम्तन सक्ने सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन तत्काल उद्धार, राहत र पुनर्स्थापना संयत्र स्थापना गरेको जनाएको छ । जोखिम क्षेत्रमा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सहयोग आवश्यक पर्ने व्यक्तिको पहिचान गरी विपद्को अवस्थामा उनीहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण र सहयोगको व्यवस्था मिलाएको सरकारको दावी छ । 

विपद्मा परेका वा आफु असुरक्षित भएको महशुस हुनासाथ तत्काल जानकारी गराउन प्रदेश सरकारले भनेको छ । वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै, विपद्को समयमा सहयोग आवश्यक परेमा १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन प्रदेश सकारले सबैमा अपिल गरेको छ । 

भोलीदेखि भारी वर्षाको सम्भावना  आवश्यक उच्च सतर्कता अपनाउन   प्रदेश सरकारको आग्रह

लिंगासैनीले जित्याे , लिंगासैनी युथ क्लबको खुल्ला

भोलीदेखि भारी वर्षाको सम्भावना  आवश्यक उच्च सतर्कता अपनाउन   प्रदेश सरकारको आग्रह

भोटेकोशी बाढी :  अधुरो आशा र काजकिरियाको

Leave a comment

Your email address will not be published. Required fields are marked *