बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, ८ भदौ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ ।  सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । 

सुरक्षाकर्मीको सलामी, बाजाजागासहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्च कन्या र महिलाले सरकारी टोलीको विदाइ गरेका हुन् । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरासहितको  एकिकृत रूपमा सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौंको संख्यामा तीर्थयात्रा केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा आजबाट सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली  गएकाले बडमिालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताए ।  

बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । जिल्लाको टोली बडीमालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । 

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी  दिए । 

बडीमालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ  । आफ्नो मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ । जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ । 

त्यस्तै सत्य युगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंग खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताए । 

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल  छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानको अवलोकन गर्न तीर्थयात्री बडीमालिका आउने  गरेको पाइन्छ ।   

बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायको भनाई छ । बडीमालिकाले सवै तह र तप्काका व्यक्तिलाई आफनो  मनोकाक्षा पुरा गर्दिने जनविश्वास भएकाले श्रद्धालु भक्तजन यस मेलामा घुइँचो लाग्ने गरेको भनाइ रहेको छ ।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली समेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ । 

बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ ।  भक्तजनको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिए । 

बडीमालिका माताको दर्शनका लागि दर्शनार्थीहरूको संख्या विगतका  वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएकोछ । यस पटक बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा  विस्तारका लागि नेपाल टेलिकमको फोरजी टावर जडान समेत भइरहेको छ । ‘बडीमालिका मन्दिर’ चार हजार २ सय मिटर उचाइमा छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गर्नुभएपछि त्यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाई छ ।

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *