सुरु भयो जाजरकोट  भूकम्पपछिको पुनर्निर्माण

 

ओम शाही

सुर्खेत, ७ साउन ।

संघीय सरकारले जाजरकोट भूकम्पपछि लामो समयदेखि शिथिल बनेको पुनर्निर्माण कार्यलाई अघि बढाएको छ । भूकम्प गएको झण्डै तीन वर्ष पुग्नै लाग्दा संघीय सरकारले बल्ल पुनर्निर्माण प्रक्रियालाई अघि बढाएको हो । 

आइतबार जिल्लाको भेरी नगरपालिका–१, को रावत गाउँका कौशिला विकको घर शिलान्यास गरेर पुनर्निर्माण कार्य अघि बढाइएको हो । जाजरकोटबाट निर्वाचित संघीय सांसद खडकबहादुर बुढा, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनार, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्ती र उप–प्रमुख सीता जैशीले सामुहिकरुपमा कौशिलाको घर शिलान्यास गरेका हुन् । 

१७ कार्तिक २०८० मा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा कौशिलाले नाती गुमाएकी थिइन, भने उनको घर पूर्णरुपमा क्षति भएको थियो । भूकम्पबाट रावत गाउँमा मात्रै ३४ जनाले ज्यान गुमाएका थिए । 

बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले दुई जिल्लामा ठुलो भौतिक क्षति पुर्‍याएको थियो । सुरुमा राहत र उद्दारमा ध्यान केन्द्रित गराएको सरकारले त्यसपछि पुनर्निर्माणको पाटोलाई गम्भीरतापूर्वक नलिदा साढे दुई वर्षयता नागरिकहरु अस्थायी आवासमा बस्न बाध्य छन् । 

ढिलै भएपनि सरकारले घर बनाइदिन लागेपछि आशा पलाएको कौशिलाले बताइन । ‘भूकम्पले बस्ने घर नै भत्काएपछि अस्थायी टहरामा बस्नु परेको छ,’ उनले भनिन्, ‘ढिलै भएपनि सरकारले घर बनाइ दिन लागको देख्दा आशा पलाएको छ ।’ लाभग्राही पहिचान र प्रमाणीकरणमा देखिएको समस्या समाधान भएपछि पुनर्निर्माण अभियान सुरु गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारले जानकारी दिए । 

जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीको सूची प्रमाणीकरण गरेपछि पुनर्निर्माणका लागि बाटो खुलेको हो । सुनारका अनुसार भूकम्प प्रभावित जाजरकोटसँगै रुकुमपश्चिमा पनि पुनर्निर्माण कार्यअघि बढाउने तयारी गरिएको छ । सामान्य प्रभावितका लागि सरकारले उपलब्ध गराउने चार लाख रुपैयाँ अनुदानबाट घर पुनर्निर्माण प्रक्रिया अघि बढाइनेछ । 

आफैं घर बनाउन नसक्ने एकल महिला, सहाराविहीन अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि भने ‘शून्य लागत’मा घर निर्माण गर्ने अभियानसमेत सुरु गरिएको छ । यसका लागि आवश्यक थप रकम स्थानीय तह, प्रदेश तथा संघीय सरकार र दातृ निकायको साझेदारीमा जुटाइनेछ । प्रारम्भिक तथ्यांकअनुसार जाजरकोट, रुकुम र सल्यानमा झण्डै दुई हजार ६ सय असहाय तथा अति प्रभावित नागरिकलाई यस्तो अभियानबाट लाभ पुग्नेछ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार १७ कार्तिक २०८० को भूकम्पपछि जाजरकोटमा ४१ हजार सात सय जनाले अस्थायी आवास पाएका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विस्तृत क्षति मूल्यांकन (डीडीए) पछि भने जिल्लामा करिब २९ हजार घरधुरी प्रभावित देखिएको अधिकारीले बताए । 

डीडीएअनुसार करिब १५ हजार घर पुनर्निर्माण र १३ हजार घर प्रबलीकरण गर्नुपर्ने देखिएको प्रजिअ अधिकारीले बताए । केही घर सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनले बताए । कार्यविधिमा रहेका प्रावधान र लाभग्राही प्रमाणीकरणमा देखिएका प्रक्रियागत समस्याका कारण पुनर्निर्माणमा ढिलाइ भएको अधिकारीले बताए । अहिले कार्यविधिअनुसार लाभग्राही छनोट गरी पुनर्निर्माण अघि बढाइएको उनको भनाई छ । 

भेरी नगरपालिकाका ६ सय १२ र नलगाड नगरपालिकाका चार सय ७२ लाभग्राहीलाई पुनर्निर्माणका लागि छनोट गरिएको छ । त्यस्तै, भेरीका ६ सय १२ मध्ये एक सय ८८ जनाको पहिलो किस्ता निकासाका लागि माग गरिएको छ । सोहीमध्ये एक लाभग्राहीको घर निर्माणबाट पुनर्निर्माण अभियानको औपचारिक सुरुवात गरिएको अधिकारीले बताए । 

पुनर्निर्माण कार्यको सुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले भूकम्प प्रभावितका घर निर्माणको कार्य सुरुहुनु सकरात्मक रहेको बताउँदै यसलाई गती दिनुपर्ने बताए । आफूले संसद्मा पटक–पटक पुनर्निर्माणको विषय उठाउँदै आएको उल्लेख गर्दै उनले अब एक घरबाट सुरु भएको पुनर्निर्माण अभियान निरन्तर अघि बढ्ने दावी गरे । 

उनले एक वर्षभित्र जाजरकोटका सात हजार भूकम्प प्रभावितका घर निर्माण गर्ने गरी सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘जाजरकोटमा पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन भएको छ । भूकम्पपछिको पुनर्निर्माणले जुनरुपमा गती लिनुपर्ने थियो, त्यसो हुन सकेन । ढिलैभएपनि पुनर्निर्माणको कार्य प्रारम्भ भएको छ । अब पनि सरकारले बहानाबाजी गरेर नागरिकलाई दुख दिने काम गर्नु हुँदैन । यस विषयमा निरन्तर संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

सुरु भयो जाजरकोट   भूकम्पपछिको पुनर्निर्माण

सम्पादकीय : गाउँमा जनसंख्या रोक्ने नीति लेऊ

सुरु भयो जाजरकोट   भूकम्पपछिको पुनर्निर्माण

सुरु भयो जाजरकोट  भूकम्पपछिको पुनर्निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *