खेतीपाती सकिएपछि भारततर्फ नेपाली युवाको लर्को बेरोजगारी र विपन्नताले घर छाड्न बाध्य

बाँके, ७ भदौं ।
खेतीपातीको काम सकिएसँगै रोजगारीको खोजीमा भारत जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ । नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा दैनिक नेपाल–भारत सीमास्थित जमुनाहा नाका हुँदै भारततर्फ जान थालेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार केही दिनयता रोजगारीका लागि भारत जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ। नाकामा बिहानैदेखि भारत जाने नेपालीको लर्को लाग्ने गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईले केही दिनयता रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढेको बताउनुभयो। उहाँका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक ठूलो संख्यामा नेपाली भारत प्रवेश गरिरहेका छन् ।
भारतको हिमाचल प्रदेशमा स्याउ पाक्ने समय सुरु भएकाले स्याउ टिप्ने, ओसारपसार गर्ने तथा अन्य कृषि मजदुरीका लागि पनि नेपाली युवा भारततर्फ गइरहेका छन् । अधिकांश नेपाली शिमला, अमृतसर, चण्डीगढ, हरिद्वार र जयपुरलगायतका क्षेत्रमा जाने गरेका छन् । रोजगारीका लागि भारत जानेमध्ये अधिकांश विपन्न परिवारका युवा छन् । आफ्नै गाउँठाउँमा वर्षभरी रोजगारी नपाइने र भएको खेतीबाट परिवार पाल्न कठिन भएपछि उनीहरू केही महिनाका लागि भारत जान बाध्य भएका हुन् ।
जाजरकोटको ढिमेका दल बहादुर विक खेतीपातीको काम सकिएपछि गाउँमा अर्को काम नपाएकाले भारत जान लागेको बताउँछन । “खेतीपाती गरेर वर्षभरी परिवार पाल्न पुग्दैन । गाउँमा अर्को काम पनि छैन । घरखर्च चलाउनकै लागि फेरि भारत जानुपरेको हो” उनले भने ।
दैलेख नौमुलेका रमेश मल्ल पनि रोजगारीका लागि भारतको हरिद्वार जान लागेका छन् । उनका अनुसार गाउँमा आम्दानीको भरपर्दो स्रोत नभएपछि भारत जानुको विकल्प देखिँदैन । “रोजगारी पाइन्छ भनेर देशमै बस्न मन त छ, तर काम नै पाइँदैन। परिवारको खर्च धान्न भारत जानुपरेको छ । अब अर्को वर्षको दसैंमा मात्र घर फर्किने योजना छ,” उनले भने ।
त्यस्तै, भारततर्फ जाँदै गरेका अर्का युवा कृष्णबहादुर शाहीले खेतीबाट हुने आम्दानीले परिवारको आवश्यकता पूरा गर्न नसक्ने भएकाले भारत जान लागेको बताए । “हाम्रो गाउँमा रोजगारी छैन । खेती आफ्नै खानलाई मात्र पुग्छ । छोराछोरीको पढाइ र घरखर्चका लागि कमाउनैपर्छ, त्यसैले भारत जान लागेको हुँ,” उनले भने ।
नाकामै भेटिएका मीनबहादुर रोकायले पनि आफूजस्तै धेरै युवा बाध्यताले भारत जानुपरेको बताए । “भारत जान रहर होइन । आफ्नै देशमा काम पाए परिवारसँगै बसेर काम गर्ने थियौँ । गरिबी र बेरोजगारीले घर छाड्न बाध्य बनाएको छ,” उनले भने ।
खेतीपातीको मौसममा गाउँ फर्किएर कृषि काम गर्ने र बाँकी समय रोजगारीका लागि भारत जाने प्रवृत्ति कर्णाली तथा लुम्बिनीका पहाडी जिल्लामा पुरानै भए पनि स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा यो क्रम अझै रोकिएको छैन ।
भारत जाने नेपालीको संख्या बढेसँगै उनीहरूको सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका तथा श २भारततर्फको रुपैडिहा बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । स्थानीय युवाका अनुसार भारतबाट कमाएको पैसाले परिवारको दैनिक खर्च, छोराछोरीको पढाइ तथा घरायसी आवश्यकता धान्न सहयोग पुग्ने भए पनि परदेशमा जोखिमपूर्ण र कठिन काम गर्नुपर्ने बाध्यता छ ।
स्वदेशमै रोजगारीको अवसर र नियमित आम्दानीको व्यवस्था नहुँदासम्म विपन्न परिवारका युवाको भारत पलायन रोक्न कठिन हुने उनीहरूको भनाई छ । खेतीपाती सकिएपछि हरेक वर्ष जमुनाहा नाकामा देखिने युवाको यो लर्को बेरोजगारी, गरिबी र गाउँमै रोजगारी सिर्जना गर्न नसकिएको अवस्थाको चित्रणसमेत बनेको छ ।





