झरसलुवा सामुदायिक वनको पहल: काठको सदुपयोग गर्दै फर्निचर उद्योगमार्फत रोजगारी र आम्दानी वृद्धि

बर्दिया ,९ बैशाख ।
 सामुदायिक वनमा आबद्ध उपभोक्ताहरूलाई आफ्नै स्रोतको उपयोग गर्दै आर्थिक लाभ दिलाउने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ स्थित झरसलुवा सामुदायिक वनले फर्निचर उद्योग स्थापना गरेको छ। वन संरक्षणसँगै रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्ने लक्ष्यसहित सुरु गरिएको यो पहल अहिले उदाहरणीय बन्दै गएको छ।
सामुदायिक वनबाट प्राप्त काठको प्रभावकारी सदुपयोग गर्दै उपभोक्तालाई सहज पहुँच उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उद्योगबाट अहिले सालका काठका झ्याल, ढोका, चौकी, टेबल, कुर्सी लगायतका सामग्री उत्पादन हुन थालेका छन्। उद्योग स्थापना भएसँगै स्थानीय स्तरमै रोजगारीका अवसर पनि सिर्जना भएका छन्।
झरसलुवा सामुदायिक वनका सल्लाहकार श्रीकृष्ण थारुका अनुसार संरक्षण गरिएको वनलाई सही तरिकाले उपयोग गर्न सके समूह मात्र नभई सदस्यहरूलाई पनि प्रत्यक्ष आर्थिक लाभ मिल्ने देखिएको छ। उनका अनुसार काठको सदुपयोग, उपभोक्ताको पहुँच विस्तार र काठ खरिद–बिक्रीमा हुने अनियमितता नियन्त्रणमा पनि उद्योग प्रभावकारी सावित भएको छ।
पहिले उपभोक्तालाई वितरण गरेर बाँकी काठ ठेकदारलाई दिने प्रचलन रहे पनि अहिले समूहले नै फर्निचर उत्पादन गरी आवश्यकता अनुसार उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले उपभोक्तालाई सुलभ दरमा सामग्री उपलब्ध हुनुका साथै स्थानीय स्तरमा रोजगारी समेत बढाएको छ।
स्थानीय उपभोक्ता छोटेलाल थारुले उद्योग स्थापना भएपछि आफूहरूलाई काठजन्य सामग्री प्राप्त गर्न सजिलो भएको र रोजगारीको अवसर पनि बढेको बताए।
समूहकी अध्यक्ष पहरी थारुका अनुसार उपभोक्ताबाट आएको मागअनुसार फर्निचर उत्पादन गरी सहुलियत दरमा वितरण गर्ने व्यवस्था गरिएको छ। “पहिला समूहका सदस्यलाई आवश्यक सामग्री उपलब्ध गराइन्छ, त्यसपछि मात्र बाहिरी बजारमा बिक्री गर्ने योजना छ,” उनले भनिन्।
उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचना, मेसिन, औजार तथा दक्ष जनशक्ति समेत समूहले व्यवस्थापन गरेको छ। वन क्षेत्रभित्र प्रशस्त मात्रामा पाइने सालका रुखमध्ये प्रत्येक वर्ष करिब ३३ वटा बुढा तथा ढलेका रुख संकलन गरी उपयोग गर्दै आइएको छ।
सामुदायिक वनको स्रोतलाई सही व्यवस्थापन र उपयोगमार्फत आयआर्जनमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश झरसलुवा सामुदायिक वनले दिएको छ। यसले वन संरक्षणसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *