निःशुल्क शिविरले फर्कायो आँखाको दृष्टि
गाेल्डेन बुढा
जुम्ला ,९ बैशाख ।
जुम्लाको दुर्गम तिला गाउँपालिका–७ की ७० वर्षीया धनसरा रावतले ६ वर्षपछि उज्यालो संसार देखिन्। उनकाे केही वर्ष अघिदेखि देब्रे आँखा धमिलो भएर अध्याँरो नै भएको थियो। त्यसपछि बल्ल उज्यालो संसार देख्न पाउँदा धेरै खुसी लागेको बताइन्।‘आँखा नदेखेपछि घरमा पानी पधेरो, खाना पकाउन छुट्यो,’ उनले भनिन्, ‘त्यसपछि अहिले बल्ल बाहिरी संसार देख्न पाएँ।’ उनका छोराका अनुसार आँखा बन्द भएपछि खर्च धेरै लाग्छ भनेर उपचारमै नलगेको बताउँछन्।‘हामीसँग पर्याप्त पैसा पनि भएन,’ उनले भने, ‘फेरि आँखाको शल्यक्रिया गर्न धेरै नै खर्च लाग्ला भनेर अहिलेसम्म यत्तिकै बसेका थियौँ।’ यसपटक भने आँखा अस्पतालले सदरमुकाममै निःशुल्क आँखा जाँच शिविर राखेका बेला चिकित्सकलाई देखाएका थिए। मोतियाविन्दु भएकाले आँखा शल्यक्रिया गर्ने योजना बन्यो।‘आँखाको शल्यक्रिया आँगनमै गर्न पाउँदा अझ धेरै खुसी लागेको छ,’ उनले भने, ‘हामीजस्तालाई धेरै सहज महसुस भएको छ।’तिला गाउँपालिका–७ कै ६० वर्षीया जयकली रावतले एउटा आँखाले देख्न नसकेको वर्षौं भएको थियो। एउटा आँखाले नदेख्ने भएपछि एउटाको भर पर्नु परेको थियो। आँखा अस्पतालले चलाएको आँखा शिविरमा पुगेर देखाए। उनलाई शल्यक्रिया गर्नुपर्छ भनेपछि चिन्ता परेको थियो।खलंगामै र निःशुल्क आँखाको शल्यक्रिया गर्न पाउँदा उनी खुसी भए। ‘काठमाडौँ, सुर्खेत, नेपालगन्ज वा बाहिर गएर आँखाको शल्यक्रिया गर्नु परेको भए न्यूनतम ३० देखि ४० हजारले पुग्दैनथ्यो,’ उनले भने।यस्तै जुम्लाको दुर्गम पातारासी गाउँपालिका–५ लासीकी ८४ वर्षीया याङ्जु लामाले जति बाँच्छिन् त्यतिन्जेल राम्रोसँग देख्न पाउने भएपछि खुसी लागेको बताइन्। पहिला नजिकै पनि नदेख्ने, देखे पनि तिरमिर हुने, घरि देख्ने–नदेख्ने समस्या थियो। आँखा जाँच गर्दा मोतिविन्दु लागेको थाहा पाएपछि शल्यक्रिया गरिन्।‘मलाई अब आँखाले देख्न पाइएला जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘जति बाँच्छु त्यतिन्जेलसम्म राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ।’पातारासी–२ तल्फीका ५८ वर्षका चुम्मा बोहोरा पनि गुमेको आँखाको ज्योति फर्किएपछि खुसी छन्। ‘घरभित्र–बाहिर हिँडडुल गर्न लठ्ठी र नातिनातिनाको सहारा लिनुपर्थ्यो, अब त्यो छुट्ने भयो,’ उनले भने।जुम्लामा सञ्चालन गरिएको ४५औँ निःशुल्क आँखा शिविरबाट १ सय २२ जनाले मोतिविन्दु तथा अन्य समस्याबाट दृष्टि पाएको आँखा उपचार केन्द्रका प्रमुख मंगल खड्काले बताए।नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पतालको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा रिड्ले आई फाउण्डेशनको आर्थिक सहयोगमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो। यसले विपन्न तथा असहाय परिवारका धेरैलाई आँखाको ज्योति फर्काउन सहयोग पुगेको अस्पतालका सभापति जगदीश चौलागाईंले बताए।जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरमा ५ सय ४० जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ६१ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको र कुल १ सय २२ जनाको सफल शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिए।शनिबारदेखि सोमबार (वैशाख ५ देखि ७) सम्म सञ्चालन गरिएको शिविरमा ५ सय ४६ जनाको आँखा परीक्षण गरिएको थियो भने २ सय ५० जनालाई पढ्न–लेख्न सहज हुने रिडिङ्ग ग्लास चस्मा वितरण गरिएको छ।नेत्र चिकित्सक डा. हरि विक्रम अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। हरेक वर्ष यस्ता शिविर सञ्चालन हुँदै आएको जनाइएको छ। गत कात्तिकमा सिँजा क्षेत्रको नराकोट र जुम्ला सदरमुकाममा पनि यस्तै शिविर सञ्चालन गरिएको थियो।शिविरमा बिरामी दर्ताका लागि ५० रुपैयाँ शुल्क लिइएको थियो भने शल्यक्रिया गरिएका बिरामीको पुनः परीक्षणपछि घर पठाइएको छ।भौगोलिक विकटता र विपन्नताका कारण आँखा नदेखे पनि उपचार नगरी बस्ने प्रवृत्ति अझै देखिन्छ। स्वास्थ्यकर्मीका अनुसार गाउँ समाजमा अझै झारफुक र लामाधामीमा विश्वास गर्ने चलन कायमै छ। ‘कतिपय अन्धविश्वासका कारण शल्यक्रिया गर्न नमानेका पनि भेटिन्छन्, जनचेतना अझै पुगेको छैन,’ उनीहरू भन्छन्।निःशुल्क स्वास्थ्य तथा आँखा शिविरमा देखाउनसमेत लजाउने र समस्या लुकाउने प्रवृत्ति रहेको सभापति चौलागाईंले बताए।यसअघि गत चैतमा तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा पनि ९० जनाको सफल शल्यक्रिया गरिएको थियो।
क्याप्सन: शिविरमा शल्यक्रिया गरेको तस्बिर गाेल्डेन बुढा जुम्ला !





