पातारासीमा सोलार ड्रायर :दिनमै गुणस्तरीय गुन्द्रुक र सुकुटी तयार  

गाेल्डेन बुढा,

जुम्ला ,९ बैशाख ।

जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका स्थानीयले अब गुन्द्रुक र सुकुटीलाई केवल परम्परागत खाद्य अभ्यासको रूपमा मात्र होइन, आयआर्जनको व्यावसायिक स्रोतका रूपमा रूपान्तरण गर्न थालेका छन्। गाउँमा स्थापना गरिएको सोलार ड्रायर ग्रीनहाउस प्रविधिले हिउँदको परम्परागत घाममा सुकाउने विधिलाई विस्थापित गर्दै उत्पादन, गुणस्तर र बजार पहुँचमा नयाँ सम्भावना खोलिदिएको छ।स्थानीय किसानहरूले आफ्ना पाटनमा उत्पादन हुने ढोकायो साग, खोलेसाग, रुघा लगायत एक दर्जनभन्दा बढी सागसब्जी संकलन गरी सोलार ड्रायरमा सुकाएर गुन्द्रुक उत्पादन गर्दै आएका छन्। यससँगै मासुको सुकुटी, स्याउका चाना, सिस्नु, काउली, बन्दा, आलु चिप्सदेखि टमाटरका भुजा जस्ता विविध उत्पादनसमेत तयार हुन थालेका छन्।पातारासी–२ तल्फी गाउँकी चन्नदेवी बोहोराको अनुभवमा घाममा गुन्द्रुक सुकाउँदा लाग्ने लामो समय, धुलो, हावाहुरी र सरसफाइको समस्या अब इतिहास बनेको छ। ‘पहिले घाममा सुकाउँदा धेरै दिन लाग्थ्यो, तर अहिले एकै दिनमै गुणस्तरीय गुन्द्रुक तयार हुन्छ,’ उनले भनिन्, ‘अब यो घरायसी मात्र होइन, बजारमुखी उत्पादन बनेको छ।’त्यस्तै उक्त गाउँकी धनकली बोहोराले माटोको छानो र खुला आँगनमा सुकाउँदा हुने ढुंगा–माटो मिसिने, झिंगा लाग्ने तथा कुहिने समस्याबाट मुक्त भएको बताइन्। उनका अनुसार सोलार ड्रायरले उत्पादनलाई सुरक्षित, स्वच्छ र एकरूप बनाएको छ।

 

पातारासी–५ लासी गाउँकी सुस्मिता बुढा अहिले सोलार ड्रायरलाई आयआर्जनको आधार बनाउने अभ्यासमा सक्रिय छिन्। उनी दैनिक सिस्नु, पाल्ता साग, काउली, गाजर, मुला लगायतका उत्पादन संकलन गरी प्रशोधन गर्छिन्। ‘अब हामीले उत्पादन गरेको वस्तु केवल घरमै सीमित छैन, बजारसम्म पुग्ने सम्भावना बढेको छ,’ उनले भनिन्। लासीकै सावित्रा बुढाका अनुसार प्रविधि भित्रिएपछि उत्पादनको गुणस्तर मात्र होइन, उपभोक्ता विश्वास पनि बढेको छ। उनले अब गाउँपालिकाले प्याकेजिङ र लेबलिङको संरचनागत सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन्।यता पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार स्थानीय पाटनमा खेर जाने सागसब्जीलाई मूल्यवर्धित उत्पादनमा रूपान्तरण गर्नु नै परियोजनाको मुख्य उद्देश्य हो। उनका अनुसार दुई वटा सोलार ड्रायर पातारासी–२ तल्फी र पातारासी–५ लासी बजारमा स्थापना गरिएको छ।स्थानीय उत्पादनहरू अहिले प्रत्यक्ष बजारमा पुग्न थालेका छन्,आलु प्रतिकेजी ३० रुपैयाँ, साग प्रतिमुठा ५देखि १० रुपैयाँ, सिस्नु प्याकेट १सय रुपैयाँ, आलु चिप्स ५० रुपैयाँ र स्याउ चाना १सय  रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर सुकाएर गुन्द्रुक र सुकुटीमा रूपान्तरण गर्दा यसको मूल्य अझै धेरै बढ्ने देखिन्छ।सोलार ड्रायर प्रतिगोटा करिब ७ लाख रुपैयाँ लागतमा जुम्ला भित्रिएको हो। एक ड्रायरमा ३६ वटा क्यारेट प्रयोग गरिन्छ, भने तापक्रम नियन्त्रण, प्याकेजिङ र लेबलिङ उपकरणसमेत समावेश छन्। यसलाई आवश्यकता अनुसार बिजुलीमार्फत पनि सञ्चालन गर्न सकिने प्राविधिक पक्ष रहेको छ।

पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेका अनुसार तीन वटा सोलार ड्रायरमार्फत दैनिक करिब ७० देखि ८० केजीसम्म गुन्द्रुक र सुकुटी उत्पादन गर्न सकिन्छ। परियोजनामा करिब २५ लाख रुपैयाँ लागत लागेको छ, जसको आधा खर्च साझेदारी कार्यक्रममार्फत व्यहोरेको हो।पातारासीमा सुरु भएको यो अभ्यास केवल प्रविधि प्रयोग मात्र नभई कृषि आधारित ग्रामीण उद्यमशीलताको रूपान्तरणतर्फ संकेत हो। परम्परागत खाद्य संरक्षण विधिलाई आधुनिकीकरण गर्दै स्थानीय उत्पादनलाई ब्रान्डिङ, प्याकेजिङ र बजार विस्तारसँग जोड्न सके यसले जुम्लाको पहाडी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।स्थानीय स्तरमै मूल्य अभिवृद्धि हुने भएपछि पातारासी अब केवल उत्पादनको क्षेत्र नभई “गुन्द्रुक उद्यमको सम्भावित केन्द्र” बन्ने दिशामा अघि बढिरहेको छ।

पातारासीमा सोलार ड्रायर :दिनमै गुणस्तरीय गुन्द्रुक र सुकुटी तयार  

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित 

पातारासीमा सोलार ड्रायर :दिनमै गुणस्तरीय गुन्द्रुक र सुकुटी तयार  

झरसलुवा सामुदायिक वनको पहल: काठको सदुपयोग गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *