कोहलपुरमा अटो तथा ई–रिक्सा सूचीकरण अनिवार्य, नत्र सञ्चालनमा रोक

बाँके ,४ भदौ।
कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकामा सूचीकरण नभएका अटो तथा ई–रिक्सालाई नगर क्षेत्रमा सञ्चालन गर्न नदिने भएको हो।
नगरपालिकाले सातदिने सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सूचीकरण नगर्ने सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने जनाएको छ। नगरपालिकाले अटो तथा ई–रिक्सा सञ्चालनलाई व्यवस्थित, सुरक्षित र नियमन गर्न सूचीकरण प्रक्रिया अघि बढाएको हो।
‘अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि, २०७९’ को दफा ३ मा नगर क्षेत्रमा अटो तथा ई–रिक्सा सञ्चालनको अनुमति लिनुअघि नगरपालिकामा सूचीकरण हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नगर क्षेत्रमा सञ्चालन भइरहेका सबै अटो तथा ई–रिक्सालाई सूचीकरण गर्न आग्रह गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो।
उहाँका अनुसार नगरपालिकामा सूचीकरण भएका अटो तथा ई–रिक्साको पहिचानका लागि नगरपालिकाले स्टिकर उपलब्ध गराउनेछ। सूचीकरण नभएका सवारीसाधनलाई नगर क्षेत्रमा सञ्चालनको अनुमति नदिइने र अनुमति नलिई सञ्चालनमा रहेका सवारीसाधनलाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो।
नगरपालिकाका अनुसार सूचीकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई नियमानुसार नवीकरण गरिएको सवारी दर्ता किताबको प्रतिलिपि, बिमा सम्बन्धी कागजात, सवारी चालक अनुमतिपत्र र सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगर क्षेत्रमा ठूलो संख्यामा अटो तथा ई–रिक्सा सञ्चालनमा रहेकाले तिनको अभिलेख राख्न, पहिचान गर्न तथा प्रभावकारी रूपमा नियमन गर्न सूचीकरण अनिवार्य गरिएको बताउनुभयो।
उहाँका अनुसार सूचीकरणपछि नगरपालिकालाई नगर क्षेत्रमा सञ्चालन हुने अटो तथा ई–रिक्साको वास्तविक संख्या, सवारीधनी तथा चालकको विवरण र सवारीसाधनको अवस्थाबारे व्यवस्थित अभिलेख राख्न सहज हुनेछ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा तोकिएको सात दिनभित्र आवश्यक कागजातसहित सूचीकरण नगर्ने अटो तथा ई–रिक्सालाई कारबाहीको दायरामा ल्याइने स्पष्ट गरिएको छ। नगरपालिकाले सम्बन्धित सवारीधनी तथा चालकलाई निर्धारित समयभित्र सूचीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।





