नगर प्रहरीले दुर्व्यवहार गरेकी महिलालाई १० हजार क्षतिपूर्ति

सुर्खेत, ६ जेठ ।
सुरर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल बेच्न हिँडिरहेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको विषयमा माफी मागेको छ । मंगरबार साझ वीरेन्द्रनगर नगरपालिका–६, स्थित सिटी बसपार्क क्षेत्रमा सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले डालोमा काफल बेच्दै गरेकी महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त भिडियोमा डालोमा भएको काफल नगर प्रहरीले छरपस्ट पारिदिएका थिए ।
भिडियो सार्वजनिक भएसँगै नगरपालिकाको व्यापक आलोचनापछि विज्ञप्ती निकालेर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । कालीकोट स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–३, धमिला चौलागाईलाई बुधबार नगरपालिकामा बोलाएर नगर प्रमुख मोहनमाया ढकालले १० हजार क्षतिपूर्ति दिदै माफि मागेकी हुन् । साथै, घटनामा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने प्रतिवद्धता ढकालले गरेकी छन् ।






