पर्यटन प्रवद्र्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

बाँके, ३ भदौ । 

जिल्लामा पर्यटन प्रवर्‌द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचार प्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । 

उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ ।

कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेको बताए । अघिल्लो आर्थिक वर्षभन्दा तेब्बर बढी पर्यटकले निकुन्जमा सफारी गरेको उनले जानकारी दिए । निकुन्जमा पर्याप्त मात्रामा घाँसेमैदान, कृत्रिम ताल, मचान, वनपथ निर्माण गरिएको उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुन्ज संरक्षणसँगै पर्यटन प्रवर्‌द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा आफू सदैव सकारात्मक रहेको बताए । नगर प्रमुख आचार्यले निकुन्ज कार्यालयसँग सहकार्य गरेर आफूहरूले सचेतनामूलक काम गरेको बताउँदै नगरपालिकासँगै जोडिएको निकुन्जको पर्यटन प्रवद्र्धन गर्न आफूहरू जहिले पनि साथमा रहेको प्रष्ट पारे ।

बाँके राष्ट्रिय निकुन्जमा पर्यटन प्रवद्र्धन गर्न बाँके राष्ट्रिय निकुन्ज कार्यालय, जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्था क्रियाशील रहेका छन् । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुन्ज पर्यटकको पर्खाइमा रहेको छ । 

निकुन्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुन्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुन्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुन्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । 

‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न  समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो । 

बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नं १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको सहभागिता थियो ।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको गतिमा १४ दशमलव दुई किलोमिटर दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेट समय निर्धारण गरिएको थियो । अब उक्त समय घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिएको छ ।

वैज्ञानिक अध्ययनबाट सो दूरी २१ देखि २४ मिनेटमा पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार यसबाट यात्रुको कम्तीमा सात मिनेट समय बचत हुनेछ । 

राजमार्गमा पर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु सहअस्तित्व र सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड एवम् सूचना बोर्ड राखिनेछ । बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप

पर्यटन प्रवद्र्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

तीन सातापछि मिल्यो भागवण्डा मुख्यमन्त्री शाहीले  पाए

Leave a comment

Your email address will not be published. Required fields are marked *