सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य

बुटवल ,४ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणकालागि बिशेष याेजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले सडक दुर्घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
रुपन्देहीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा तथा छलफल गरिएको थियो ।





