ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा एक वर्षमा १२४ जनाले लिए उपचार

बाँके ,१ भदौ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२/८३ मा सर्प र बिच्छीको टोकाइबाट प्रभावित १२४ जनाले उपचार सेवा लिएका छन्। उपचार लिनेमध्ये ५५ जना सर्पदंश र ६९ जना बिच्छीको टोकाइका बिरामी रहेका छन्।
उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ महिला र २६ पुरुष छन्। तीमध्ये पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो। समयमै उपचार केन्द्रमा ल्याइएकाले सबैको सफल उपचार गर्न सकिएको पाण्डेले बताए।
त्यस्तै, गत आर्थिक वर्षमा बिच्छीले टोकेका ६९ जनाले उपचार सेवा लिएका छन्। बिच्छीको टोकाइबाट प्रभावितमध्ये ४२ महिला र २७ पुरुष रहेको उपचार केन्द्रले जनाएको छ।
वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्ने गरेका छन्। अहेब पाण्डेका अनुसार साउनदेखि असोजसम्म सर्पदंशका घटना बढी देखिने गरेका छन्। वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सुरक्षित र सुख्खा ठाउँको खोजीमा सर्प घर, गोठ, खेतबारी तथा मानिसको आवतजावत हुने क्षेत्रमा आउने गर्छन्।
धान रोपाइँ, घाँस काट्ने, दाउरा संकलन गर्ने तथा खेतबारीमा काम गर्ने क्रममा पनि सर्पदंशको जोखिम उच्च हुने गरेको स्थानीय बताउँछन्। राप्तीसोनारी–८ कचनापुरका स्थानीय भपेन्द्र खत्रीले सर्पले मानिसलाई प्रायः आक्रमण गर्न नभई आत्मरक्षाका क्रममा टोक्ने गरेको बताए।
‘समयमै उपचार केन्द्रमा पु¥याउन सके सर्पदंशबाट ज्यान जोगाउन सकिन्छ भन्ने यहाँका घटनाले देखाएका छन्,’ खत्रीले भने।
स्वास्थ्यकर्मीहरूले सर्पदंशबाट जोगिन राति हिँड्दा टर्च वा बत्ती प्रयोग गर्न, खेतबारी तथा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउन, घरवरिपरि झाडी तथा फोहोर नराख्न र मुसाको नियन्त्रण गर्न सुझाव दिएका छन्। राति सुत्दा झुल प्रयोग गर्न तथा सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न उनीहरूको आग्रह छ।
सर्पले टोकेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय नबिताई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पु¥याउनुपर्ने अहेब पाण्डेले बताए। समयमै उपचार पाएमा विषालु सर्पको टोकाइबाट समेत ज्यान जोगाउन सकिने भएकाले सर्पदंशलाई सामान्य रूपमा नलिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।





