एसईईमा उत्कृष्ट २३ छात्रालाई साइकल उपहार

बाँके, १ साउन।
ग्रामीण क्षेत्रका छात्राहरूलाई विद्यालय शिक्षामा निरन्तरता दिन, उच्च शिक्षातर्फ आकर्षित गर्न तथा बालिका शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयका उत्कृष्ट २३ जना छात्रालाई साइकल वितरण गरेको छ ।
शैक्षिक सत्र २०८१/०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका छात्राहरूलाई सम्मानस्वरूप साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार यो कार्यक्रम ग्रामीण क्षेत्रका छात्राहरूको विद्यालय आवतजावत सहज बनाउन र माध्यमिक तहपछि पनि अध्ययनलाई निरन्तरता दिन उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले शिक्षा समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विशेषगरी ग्रामीण क्षेत्रका छोरीहरूको शिक्षामा कुनै अवरोध आउन नदिन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
उनले जानकी गाउँपालिकामा मधेशी तथा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको र विगतमा सामाजिक तथा आर्थिक कारणले धेरै छात्राहरूले माध्यमिक तहपछि पढाइ छाड्ने अवस्था रहेको स्मरण गर्दै अब त्यस्तो अवस्थाको अन्त्य गर्न छात्रीमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
“आज वितरण गरिएको साइकल केवल यातायातको साधन मात्र होइन, छोरीहरूको उज्ज्वल भविष्यतर्फको यात्राको साथी हो,” अध्यक्ष खाँले भने । उनले आगामी दिनमा छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, विद्यालय पूर्वाधार सुधार तथा गुणस्तरीय शिक्षासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले छात्राहरूको विद्यालय आवतजावत सहज बनाउँदै उच्च शिक्षातर्फ निरन्तरता दिन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले विद्यार्थीलाई अवसरको सदुपयोग गर्दै मेहनत, अनुशासन र निरन्तर अध्ययनमार्फत सफलता हासिल गर्न आग्रह गर्दै शिक्षामा गरिएको लगानी सक्षम र जिम्मेवार नागरिक निर्माणका लागि भएको उल्लेख गरे ।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले साइकल वितरण उत्कृष्ट नतिजाको सम्मान मात्र नभई छात्राहरूलाई उच्च शिक्षातर्फ अघि बढ्न थप प्रेरणा दिने विश्वास व्यक्त गरे । वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले ग्रामीण भेगका धेरै छात्राहरू टाढाको विद्यालयमा पैदल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै साइकलले उनीहरूको समय बचत गर्नुका साथै नियमित विद्यालय जान सहज हुने बताए ।
शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले “छोरी शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज समृद्ध बन्छ,” भन्दै बालिका शिक्षामा गरिएको लगानी दीर्घकालीन सामाजिक विकासका लागि सबैभन्दा महत्वपूर्ण लगानी भएको बताए ।
साइकल प्राप्त गरेकी एक छात्राले गाउँपालिकाप्रति आभार व्यक्त गर्दै साइकलले विद्यालय आउजाउ सहज बनाएको र अब पढाइमा अझ बढी ध्यान केन्द्रित गर्न सकिने बताइन् । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य रामअचल धोबी, योजना शाखा प्रमुख शोभा पौडेल, गाउँपालिका अध्यक्षका निजी सचिव सोहराब अली, सूचना प्रविधि अधिकृत विकास जिसीलगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
जानकी गाउँपालिकाले बालिका शिक्षाको पहुँच विस्तार, विद्यालय छाड्ने दर न्यूनीकरण तथा ग्रामीण क्षेत्रका छात्राहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।






