कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेस

सुर्खेत, २ जेठ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेशसभामा विनियोजन विधेयक पेस गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले मन्त्री शाहलाई समय दिएसँगै कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०८१ दफा ११ र कर्णाली प्रदेशसभा नियमावली, २०७९ नियम १४१ बमोजिम उनले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफलका लागि सभामा पेस गरेका हुन ।
बैठकमा मन्त्री शाहले विधेयकका सिद्धान्त र प्रथामिकताको धरातलमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं वार्षिक बजेट निर्माण तथा कार्यान्वयनका माध्यमबाट समग्र प्रदेश आर्थिक तथा सामाजिकलगायतमा उच्च समृद्धि हाँसिल गर्दै मध्यम आय भएको प्रदेशका रूपमा कर्णालीलाई विकास गरी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको हिस्सा बढाउने दूरदर्शी सोच राखेको बताए ।
विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा सभामा छलफल गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गर्नका लागि सदस्यहरूको सुझाव तथा मार्गदर्शन सभामार्फत प्राप्त हुने र त्यसले सरकारलाई नीति तथा कार्यक्रम र बजेट निर्माणमा सघाउने भन्दै उनले उक्त विधेयक सभासमक्ष पेस गरेका थिए । पेस भएको उक्त प्रस्तावमाथि आगामी जेठ ५ र ६ गते छलफल हुने सभामुख गुरुङले जानकारी दिए ।





