राप्ती बगरमा फलेको ‘रातो सुन’ :  आफ्नै भूमिमा अर्गानिक तरबुजा पाएपछि स्थानीय खुसी

सरला सुवेदी 
बाँके, ३ बैशाख ।
“मेहनत र पसिनाले बालुवामा पनि सुन फलाउन सकिन्छ” भन्ने भनाइलाई बाँकेको राप्ती नदी किनारले यतिबेला जीवन्त बनाइदिएको छ। उराठ लाग्दो, सुनसान र उपयोगविहीन जस्तो देखिने राप्तीको बगर अहिले हरियो बोट र राताम्य तरबुजाले ढाकिएको छ । सिदनिया घाट आसपासको क्षेत्र अहिले तरबुजा खेतीको केन्द्र बनेको छ, जहाँ भारतका विभिन्न स्थानबाट आएका किसानहरूले श्रम र सीपको बलमा बगरलाई आम्दानीको स्रोतमा रूपान्तरण गरेका छन् ।
राप्ती नदीको बगरमा अहिले भारतको हरियाणा, दिल्ली र उत्तर प्रदेशबाट आएका झन्डै १० घरपरिवार किसानले तरबुजा खेती गरिरहेका छन् । उनीहरूले विगत तीन वर्षदेखि यहाँ निरन्तर खेती गर्दै आएका छन् र यसलाई भरपर्दो आम्दानीको माध्यम बनाएका छन् । करिब तीन महिनामै उत्पादन लिन सकिने तरबुजा अबको १५–२० दिनभित्र बिक्रीका लागि तयार हुने किसानहरूको भनाइ छ ।
हाल राप्ती बगरको करिब ११० बिघा जमिनमा करिब ७० लाख रुपैयाँ लगानी गरी तरबुजा खेती गरिएको छ । सिँचाइ, बीउ, मल तथा श्रम व्यवस्थापनमा गरिएको लगानीले बगरलाई हराभरा बनाएको छ । उत्पादन तयार भएपछि यहीँबाट तरबुजा बिक्री हुने र करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
भारतीय बजारबाट तरबुजा खरिद गरेर नेपालमा बिक्री गर्दै आएका व्यापारीहरूले बाँकेको राप्ती बगरमा यसको उच्च सम्भावना रहेको सुझाव दिएपछि आफूहरू नेपाल आएर खेती सुरु गरेको किसानहरूको भनाइ छ । उत्तर प्रदेशका किसान बसिल खान भन्छन्, “ज्याला मजदुरी गरेर भन्दा तरबुजा खेतीबाट धेरै राम्रो आम्दानी हुन्छ । तीन महिनामै करिब तीन लाख रुपैयाँसम्म कमाउन सकिन्छ । यहाँको वातावरण र समाज पनि राम्रो भएकाले काम गर्न सहज भएको छ ।”
तरबुजा खेतीले स्थानीय स्तरमा पनि सकारात्मक प्रभाव पारिरहेको छ। स्थानीय बासिन्दाहरूले आफ्नै क्षेत्रमा उत्पादन भएको ताजा र अर्गानिक तरबुजा खान पाउँदा खुसी व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ का स्थानीय रामबहादुर थारु भन्छन्, “पहिले बजारबाट ल्याइएको तरबुजा मात्रै खान पाइन्थ्यो, त्यो पनि कति सुरक्षित छ भन्ने थाहा हुँदैनथ्यो । अहिले आफ्नै ठाउँमा उत्पादन भएको ताजा तरबुजा खान पाउँदा निकै खुसी लागेको छ ।”
त्यस्तै, स्थानीय महिला सीता चौधरीले पनि अर्गानिक उत्पादनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै भनिन्, “यहाँको तरबुजा निकै मिठो र रसिलो हुन्छ । रासायनिक पदार्थ कम प्रयोग भएको जस्तो लाग्छ, त्यसैले बच्चाहरूलाई पनि नडराई खान दिन सक्छौँ ।”
राप्ती नदीको बगरमा गरिएको यो खेतीले केवल उत्पादन मात्र होइन, सम्भावनाको ढोका पनि खोलेको छ। भारतीय किसानहरूले नेपाली किसानहरूलाई आधुनिक तरिका, व्यवस्थापन र मेहनतको उदाहरण देखाएका छन् । बगर जस्तो बाँझो जमिनलाई समेत उपयोग गर्न सकिने सन्देश यसले दिएको छ ।
यदि यस्ता पहललाई स्थानीय तह र सरकारले आवश्यक सहयोग, प्राविधिक समर्थन र बजार व्यवस्थापनमा सहजीकरण गर्न सके, नेपालमै ठूलो मात्रामा फलफूल उत्पादन सम्भव हुने देखिन्छ । यसले आयात घटाउने मात्र होइन, देशभित्रै रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा पनि टेवा पुर्‍याउनेछ । राप्ती बगरमा फलेको यो ‘रातो सुन’ ले अब केवल किसानको आम्दानी मात्र होइन, स्थानीयको स्वास्थ्य, आत्मनिर्भरता र आशालाई पनि सँगै फुलाइरहेको छ ।
राप्ती बगरमा फलेको ‘रातो सुन’ :  आफ्नै भूमिमा अर्गानिक तरबुजा पाएपछि स्थानीय खुसी

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने

राप्ती बगरमा फलेको ‘रातो सुन’ :  आफ्नै भूमिमा अर्गानिक तरबुजा पाएपछि स्थानीय खुसी

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *