बाँकेमा ८०० बालबालिका खोपबाट वञ्चित: वैशाखभर ‘खोप खोजपड्ताल’ अभियान सञ्चालन हुने
२, बैशाख २०८३
बाँके। बाँके जिल्लामा खोपको पूरा मात्रा नलिने बालबालिकाको संख्या ८ सय पुगेपछि स्वास्थ्य कार्यालयले वैशाख महिनाभर ‘खोप खोजपड्ताल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ। खोप ड्रपआउट दर उच्च देखिएपछि छुटेका बालबालिकालाई पहिचान गरी खोपको पहुँचमा ल्याउने लक्ष्य लिइएको हो।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी खोप ड्रपआउट मुस्लिम समुदायमा देखिएको छ, जहाँ ३५४ बालबालिकाले खोपको पूरा मात्रा लिन सकेनन्। त्यस्तै मधेशी समुदायका १८९, दलित समुदायका १२८ र जनजाति समुदायका ५७ बालबालिका खोपबाट वञ्चित रहेका छन्। यो संख्या सर्वेक्षणमार्फत खोजेर पत्ता लगाइएको हो।
१६ महिनादेखि ५९ महिनासम्मका खोप पूरा नगरेका बालबालिकालाई लक्षित गर्दै अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार अभियानमार्फत छुटेका बालबालिकालाई खोजी गरी आवश्यक खोप उपलब्ध गराइनेछ।
सरकारले प्रत्येक वर्ष वैशाख महिनालाई ‘खोप महिना’का रूपमा मनाउने गरेको छ। यस अवधिमा खोपसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, अभिभावकलाई जागरूक बनाउने तथा खोप सेवामा पहुँच विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिन्छ। वैशाखको दोस्रो हप्तालाई ‘खोप सप्ताह’का रूपमा पनि मनाइन्छ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवाबारे जानकारी दिन आयोजित पैरवी बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले खोपका कारण बाल मृत्युदर घट्दो क्रममा रहेको बताउनुभयो। उहाँका अनुसार १५ महिनामुनिका बालबालिकालाई १३ प्रकारका खोप, गर्भवती महिलालाई आवश्यक खोप तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप प्रदान गरिँदै आएको छ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त पैरवी बैठकमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापा, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, आठै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मुस्लिम धर्मगुरु तथा मौलानालगायत सरोकारवालाको पनि सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालयले अभियान सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ।





