जुम्लामा आर्थिक गणना सुरु: १७ गणक र ३ सुपरिवेक्षक परिचालन
गाेल्डेन बुढा
जुम्ला,२ बैशाख।
दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जुम्लामा १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको छ। बुधबारदेखि देशव्यापी रूपमा सुरु भएको यस अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा स्थलगत तथ्याङ्क सङ्कलन सुरु गरिएको हो।आगामी असार ७ गतेसम्म सञ्चालन हुने गणनाका लागि जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी कुल आठवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक खटाइएको जिल्ला आर्थिक गणना अधिकारी दिपेन्द्रसिंह धामीले जानकारी दिए।
उनका अनुसार चन्दननाथ नगरपालिकामा मात्रै ६ जना गणक,सर्पराज महत, सविना शाही, तेजेन्द्र महत, पुरिचन्द्र रावत, हरिदेवी खत्री र सरिता उपाध्याय,परिचालन गरिएका छन्।यस्तै पातारासी गाउँपालिकामा चन्द्रमाया थापा र दिपराज बोहोरा, गुठिचौरमा रोशन खत्री, तातोपानीमा देविदत्त रोकाया, तिला गाउँपालिकामा तुलसी बुढा र नरबहादुर रावत, हिमामा शोभा रोकाया, सिँजामा सपना बुढा र पदम रोकाया तथा कनकासुन्दरी गाउँपालिकामा तिल भण्डारी र उर्मिला बुढा गणकका रूपमा खटिएका छन्।सुपरिवेक्षकका रूपमा धनलाल बुढा, निर्मल बुढा र निशा महत परिचालित छन्। उनीहरूलाई गत चैत २६ देखि ३० गतेसम्म तालिम दिइएको थियो। गणना फाराम भर्ने र अनलाइन विधिबाट गरिनेछ।‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित सञ्चालनमा आएको यस अभियानमार्फत व्यवसायिक प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिने धामीले बताए। उनका अनुसार आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको हो।उनले भने, “गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माण, आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग,व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण सङ्कलनमा सहयोग पुग्नेछ।बुधबारदेखि सदरमुकाम खलंगामा माइकिङबाट पनि गणना गर्न अपिल गरिएको छ।”राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना सञ्चालन गरेको हो। पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो। नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ मध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलाप यसमा समेटिनेछन्।
खण्ड ‘ए’ अन्तर्गत कृषि, वन तथा मत्स्यपालनमा दर्ता भएका प्रतिष्ठान मात्र समावेश गरिनेछ।२०७५ को आर्थिक गणनाअनुसार जुम्लामा १ हजार ५ सय ६९ व्यापारिक, १ हजार २ सय ४६ सेवा र २ सय ६३ उद्योग प्रतिष्ठान सञ्चालनमा थिए। जसमध्ये चन्दननाथ नगरपालिकामा १ हजार ५८, गुठिचौरमा २ सय १०, कनकासुन्दरीमा ३ सय ७४, तिलामा ३ सय ५८, पातारासीमा ३ सय ८, सिँजामा २ सय ९२, तातोपानीमा २ सय ६७ र हिमामा २ सय ११ प्रतिष्ठान रहेको तथ्याङ्कमा उल्लेख छ।उक्त गणनाले महिलाको आर्थिक सहभागिता उल्लेखनीय रहेको देखाएको थियो। महिलाको स्वामित्वमा २ लाख ४७ हजार ८ सय ८० प्रतिष्ठान सञ्चालनमा रहेका छन् भने २ लाख ७३ हजार ४ सय ३६ प्रतिष्ठान महिलाले व्यवस्थापन गरिरहेका छन्। तर ५२.४ प्रतिशत प्रतिष्ठानले कारोबारको लेखा नराख्ने तथ्यले कर प्रणालीमा चुनौती देखाएको छ।देशभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठानमध्ये ४ लाख ६२ हजार ६ सय ५ मात्रै दर्ता भएका छन् भने ४ लाख ६० हजार ४ सय २२ अझै अनौपचारिक रूपमा सञ्चालनमा छन्।
त्यस्तै ४ लाख ७२ हजार ३ सय ५० प्रतिष्ठानले कारोबारको अभिलेख नराख्ने गरेका छन्। यी प्रतिष्ठानमा कुल ३२ लाख २८ हजार ४ सय ५७ जना संलग्न छन्।जिल्ला आर्थिक गणना समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ। समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधि सदस्य रहने प्रावधान छ।





