सम्पादकीय : जेन–जी आन्दोलनको वर्ष
सोमबारबाट नेपाली वर्ष २०८२ समाप्त भई नयाँ वर्ष २०८३ सुरु भएको छ । बितेको वर्षलाई फर्केर हेर्दा, यो केवल समयको फेरबदल मात्र होइन, राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको एउटा गहिरो मोडका रूपमा देखिन्छ । वर्ष २०८२ नेपाल र नेपालीका लागि असाधारण तनाव, अनिश्चितता र परिवर्तनको वर्ष बन्यो । विश्व भूराजनीतिमा आएको उतारचढाव, विशेषगरी खाडी क्षेत्रमा चर्किएको युद्ध, त्यसको प्रभावस्वरूप तेल, सुनचाँदी तथा अमेरिकी डलरको विनिमय दरमा आएको तीव्र उतारचढावले नेपाली अर्थतन्त्रलाई थप दबाबमा राख्यो । आयातमा निर्भर अर्थतन्त्र भएकाले नेपालले यसको प्रत्यक्ष असर भोग्नुपर्यो—महँगी बढ्यो, बजार अस्थिर बन्यो, र आम नागरिकको जीवनयापन कठिन भयो । तर वर्ष २०८२ लाई सबैभन्दा बढी चिनाउने घटना भने जेन–जी आन्दोलन बन्यो । २३–२४ भदौका दिनहरू केवल आन्दोलनका दिन मात्र रहेनन्, ती दिनहरूले नेपालको राजनीतिक इतिहासमा गहिरो छाप छोडे । आन्दोलन रक्तपातपूर्ण बन्दै जाँदा २४ भदौमा भएको व्यापक विध्वंसले मुलुकलाई झकझक्यायो । सार्वजनिक तथा निजी संरचनामा भएको ठूलो क्षतिले राज्यको संरचनात्मक कमजोरीलाई उजागर गर्यो ।
विशेषगरी कर्णाली प्रदेशमा आन्दोलनले गम्भीर असर पार्यो । करिब २१ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति हुनु केवल आर्थिक नोक्सानी मात्र होइन, राज्यप्रति नागरिकको असन्तुष्टि र आक्रोशको प्रतिविम्ब पनि हो । प्रदेशसभा सचिवालयदेखि स्थानीय तहका कार्यालयसम्म भएका तोडफोड र आगजनीले राज्य संयन्त्रको सुरक्षा र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ । जेन–जी आन्दोलनको अर्को महत्वपूर्ण प्रभाव राजनीतिक संरचनामा देखियो । आफूलाई स्थायी र शक्तिशाली ठान्ने ठूला दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा—लाई यसले गम्भीर धक्का दियो । जनतामा बढ्दो असन्तोष र नयाँ पुस्ताको राजनीतिक चेतनाले पुराना शक्तिहरूलाई चुनौती दिएको स्पष्ट देखियो । यसै आन्दोलनको परिणामस्वरूप मुलुक निर्धारित समयभन्दा करिब डेढ वर्षअघि नै आम निर्वाचनमा होमियो । आपतकालीन अवस्थामा सम्पन्न गरिएको निर्वाचनले राजनीतिक निकास त दियो, तर यसको आर्थिक मूल्य निकै महँगो रह्यो । करिब २० अर्ब रुपैयाँको अतिरिक्त व्ययभार राज्यले बोक्नुपर्यो, जुन स्रोत सीमित भएको मुलुकका लागि ठूलो बोझ हो । यद्यपि, सबै चुनौतीबीच केही सकारात्मक संकेतहरू पनि देखिएका छन् । नयाँ सत्तासमीकरण र बदलिँदो राजनीतिक परिदृश्यले सुधारको सम्भावना देखाएको छ । जनताको आवाज सशक्त रूपमा उठेको छ, जसले शासनप्रणालीलाई अझ उत्तरदायी बन्न बाध्य बनाएको छ ।
अब नयाँ वर्ष २०८३ ले यी चुनौतीहरूबाट पाठ सिक्दै स्थायित्व, समृद्धि र सुशासनको बाटो समात्न सक्छ ?, जेन–जी आन्दोलनले देखाएको जनशक्ति र चेतनालाई सकारात्मक रूपान्तरणमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन ? भन्ने प्रश्नहरु उठेका छन् । नयाँ वर्षले केवल आशा मात्र होइन, जिम्मेवारी पनि बोकेको छ । राज्यले जनताको विश्वास पुनः प्राप्त गर्न पारदर्शिता, उत्तरदायित्व र समावेशी विकासलाई प्राथमिकता दिनैपर्छ । अन्यथा, २०८२ जस्तै अशान्त र अस्थिर वर्ष फेरि दोहोरिन समय लाग्ने छैन । वर्ष २०८२ ले दिएको सबैभन्दा ठूलो सन्देश भनेको परिवर्तन अपरिहार्य छ, तर त्यसलाई सही दिशामा लैजान सक्षम नेतृत्व र उत्तरदायी शासन अनिवार्य छ ।





