प्रदेश अस्पताल सुर्खेत र राष्ट्रिय वाणिज्य बैंकबीच पाँचवर्षे सम्झौता, डाइनामिक क्यूआरदेखि सहुलियतपूर्ण कर्जासम्मका सेवा विस्तार

सुर्खेत, २९ असार ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश अस्पताल, कालागाउँ (वीरेन्द्रनगर) सुर्खेत र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच कर्मचारी तथा सेवाग्राहीलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पाँच वर्षे द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ।
सम्झौताले अस्पतालको राजस्व संकलन प्रणालीलाई थप व्यवस्थित बनाउने, कर्मचारीलाई सहुलियतपूर्ण बैंकिङ सेवा तथा कर्जा उपलब्ध गराउने र सेवाग्राहीलाई डिजिटल माध्यमबाट सहज भुक्तानी गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत अस्पतालमा डाइनामिक क्यूआर (Dynamic QR) भुक्तानी प्रणाली शुभारम्भ गरिनुका साथै भविष्यमा एटीएम सेवा तथा आवश्यकताअनुसार बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन गर्ने विषय पनि समझदारीपत्रमा समेटिएको छ।

सम्झौताअनुसार प्रदेश अस्पतालका कर्मचारीहरूको तलब, भत्ता तथा अन्य आर्थिक सुविधा राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन हुने तलबी बचत खातामार्फत भुक्तानी गरिनेछ। बैंकले प्रचलित नियमअनुसार तलबी खातामा त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउनेछ। कर्मचारीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, डलर खाता, रेमिट्यान्स सेवा, सेफ डिपोजिट लकर, क्यूआर भुक्तानीलगायतका आधुनिक बैंकिङ सुविधा प्राप्त गर्नेछन्। तलबी बचत खातामा अतिरिक्त शुल्क नलाग्ने, पहिलो पटक चेकबुक निःशुल्क उपलब्ध गराइने तथा आवश्यकता अनुसार जुनसुकै शाखाबाट सेवा लिन सकिने व्यवस्था पनि गरिएको छ।
सम्झौतामा प्रदेश अस्पतालका स्थायी कर्मचारीलाई प्राथमिकताका आधारमा पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने उल्लेख छ। कम्तीमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अस्पतालको सिफारिसमा उक्त कर्जा लिन सक्नेछन्। कर्जा नेपाल राष्ट्र बैंकको नीति तथा राष्ट्रिय वाणिज्य बैंकको कर्जा निर्देशिकाअनुसार प्रवाह हुनेछ। कर्जाको सीमा आधारभूत तलबको बढीमा चार वर्ष बराबर वा अधिकतम १५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, त्यही आधारमा निर्धारण गरिनेछ।
हालका लागि पेशाकर्मी सरल कर्जाको ब्याजदर बैंकको आधारदरमा २ प्रतिशत प्रिमियम थप गरी वार्षिक ६.२२ प्रतिशत कायम गरिएको छ। आधारदर परिवर्तन भएमा ब्याजदर पनि सोहीअनुसार समायोजन हुनेछ।

यसका अतिरिक्त कर्मचारीले आवश्यकता अनुसार घर कर्जा, धितो कर्जा, पेट्रोल तथा विद्युतीय सवारी कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत ओभरड्राफ्ट, शेयर कर्जा, फोन लोन तथा मुद्दती निक्षेप धितोमा कर्जालगायत अन्य बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा कर्जा लिएका कर्मचारीले राजीनामा, सरुवा वा अवकाश लिनुअघि बैंकबाट कर्जा चुक्ता भएको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कर्जा चुक्ता नभएसम्म सम्बन्धित कर्मचारीको तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमै कायम रहने तथा अवकाश भुक्तानीसमेत सोही खातामार्फत गरिने उल्लेख छ।
दुवै पक्षबीच अस्पतालको आवश्यकता अनुसार एटीएम तथा एक्स्टेन्सन काउन्टर स्थापना गर्ने, अस्पतालको राजस्व संकलनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने, मोबाइल बैंकिङ र क्यूआर सेवाको विस्तार गर्ने तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने सहमति पनि भएको छ। साथै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, सुरक्षा गार्ड, सरसफाइ कर्मचारी तथा उनीहरूका परिवारलाई प्रदेश अस्पतालबाट सहज र प्राथमिकताका साथ स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सम्झौता पाँच वर्षका लागि लागू हुनेछ। प्रत्येक वर्ष यसको समीक्षा गरी आवश्यक परिमार्जन गर्न सकिने तथा दुवै पक्षको सहमतिमा सम्झौतालाई निरन्तरता दिन सकिने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा प्रदेश अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. गणेश थापाले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा अस्पतालका उपसचिव अनिता ज्ञवाली, वरिष्ठ लेखा अधिकृत प्रकाश शर्मा तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो।
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट कर्णाली प्रदेश प्रादेशिक प्रबन्धक दुष्यन्तराज निरौलाले हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा उपप्रबन्धक जयप्रकाश बराल, उपप्रबन्धक लक्ष्मी पाण्डे, वरिष्ठ सहायक चन्द्रप्रकाश बराल, वरिष्ठ सहायक डम्मर पौड्याल तथा मुलपानी शाखाका शाखा प्रबन्धक नेमबहादुर शाहीको समेत सहभागिता रहेको थियो।

दुवै पक्षले यस समझदारीले प्रदेश अस्पतालमा डिजिटल भुक्तानी प्रणाली विस्तार, राजस्व व्यवस्थापनमा पारदर्शिता, कर्मचारीको वित्तीय पहुँच अभिवृद्धि तथा सेवाग्राहीलाई छिटो, सुरक्षित र सहज सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।






