खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

नरेन्द्रसिंह कार्की/रासस

दार्चुला, ३० जेठ । 

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको खलङ्गा–खार सडकखण्ड अझै अधुरै छ । आर्थिक वर्ष २०७५/०७६ मै प्रदेश गौरवको सडक घोषणा गरिएको यो योजनामा हालसम्म सात किलोमिटर क्षेत्रमा समेत प्रभावकारी काम हुन सकेको छैन ।

खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो दूरीको यो सडक निर्माण अधुरै हुँदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सदरमुकाम खलङ्गादेखि दल्लेखसम्मको करिब १५ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पुर्‍याएको सात किलोमिटर क्षेत्रमा अझै काम अघि बढ्न सकेको छैन ।

विसं २०७७ मै सडक कालोपत्रका लागि ठेक्का लागेको थियो । केही काम अघि बढेकै बेला २०७९ साल भदौ अन्तिम साता डुङुरी खोलामा आएको बाढीले सडक संरचना ध्वस्त बनायो । त्यसपछि क्षति भएका संरचनाको पुनर्निर्माणमा ढिलाइ हुँदा अहिले यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ ।

महाकाली नगरपालिका–२ अन्तर्गत मुल्ला, मैखोली र सेला तथा वडा नम्बर ३ को काटैदेखि डुङुरी क्षेत्रसम्म सडक अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् । नदी कटानका कारण सडकको तल्लो भाग भासिएको छ भने माथिबाट खसेको पहिरोसमेत हटाइएको छैन ।

जीप चालक विशनसिंह नगालका अनुसार डुङुरीसम्म केही सुधार भए पनि त्यसभन्दा माथिको सडकमा सवारी सञ्चालन गर्न निकै जोखिम मोल्नुपर्छ । “थोरै पानी पर्दा पनि सडक अवरुद्ध हुन्छ”, उनले भने, “सडक निर्माणमा भइरहेको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्नुपरेको छ ।”

सडक नियमित सञ्चालनमा नआउँदा महाकाली नगरपालिका–२ र नौगाड गाउँपालिकाका स्थानीय बर्खायाममा बढी प्रभावित हुने गरेका छन् । नौगाड गाउँपालिका–२ की सरस्वती डोबालका अनुसार सडक अवरुद्ध हुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ ।

“हाम्रो क्षेत्रमा आलु, टमाटर, काक्रोलगायत तरकारी उत्पादन हुन्छ”, उनले भने, “तर सडक नियमित नहुँदा समयमै बजार पुर्‍याउन सकिँदैन । खलङ्गाबाट खाद्यान्न ढुवानीमा समेत समस्या छ ।” महाकाली लोकमार्गअन्तर्गतको ७२ किलोमिटर लामो खलङ्गा–गोकुलेश्वर पक्की सडक सञ्चालनमा रहे पनि छोटो दूरीको वैकल्पिक सडक लामो समयदेखि अधुरै रहँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म धेरै स्थानमा ट्रयाकसमेत सुधार हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर जीतेन्द्रसिंह धामीका अनुसार चालु आर्थिक वर्षमा डुङुरी, काटैलगायतका क्षेत्रमा ग्याबिन जाली हाल्ने, आरसीसी संरचना तथा कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । “केही ठाउँमा काम भइरहेको छ”, उनले भने, “तर अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।”

कार्यालयले निर्माण व्यवसायीको लापर्वाहीका कारण काममा ढिलाइ भएको जनाएको छ । पटक–पटक ताकेता गर्दा पनि निर्माण कार्यले गति लिन नसकेको कार्यालयको भनाइ छ । गत वर्ष नौगाड गाउँपालिकाले आफ्नै लगानीमा जेसीभी प्रयोग गरी सडक सुचारु गराएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताए । “हाम्रो क्षेत्रसम्म गाडी सञ्चालन गर्ने प्रयास गरेका हौँ”, उनले भने, “महाकाली नगरपालिकासँग समन्वय भए सडकलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ ।”

पूर्वाधार विकास कार्यालयले यसअघि दुई प्याकेजमा सडक कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर बाढीपछि सडक निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्न नसक्दा अहिले पनि खलङ्गादेखि काटैसम्मका धेरै स्थानमा ट्रयाक बिग्रिएको अवस्थामा छ ।

रोकिएको काम सुरु गराउन प्रशासनले पनि पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । “बर्खायाममा सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छौँ”, उनले भन्नुभयो ।

खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *