उपल्लो डोल्पामा भेरी करिडोरको सडक निर्माण सुरु, सेनाले सिसौलबाट ट्र्याक खोल्दै

डोल्पा ,२७ भदौ ।
भेरी करिडोरअन्तर्गत उपल्लो डोल्पाको ल्यासीक्याप–सिसौल सडकखण्ड निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले सडक निर्माणको काम अघि बढाएको छ। अत्यन्तै कठिन र चट्टानी भूगोलका कारण लामो समयदेखि अलपत्र रहेको सडकखण्डमा सेनाले अस्थायी बेस क्याम्प स्थापना गरी निर्माण सुरु गरेको हो।
नेपाली सेनाले डोल्पा बुद्ध गाउँपालिकास्थित धो इलाकामा अस्थायी बेस क्याम्प स्थापना गरेर सिसौलतर्फबाट सडक निर्माणको काम सुरु गरेको भेरी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक प्रमुख सेनानी अमृत पराजुलीले जानकारी दिनुभयो।
उहाँका अनुसार गत साउन १७ गतेदेखि धो क्षेत्रमा अस्थायी बेस क्याम्प स्थापना गरी निर्माणका लागि आवश्यक तयारीसँगै सडक निर्माणको काम अघि बढाइएको हो।
निर्माण कार्यदलले सडक निर्माणका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय डोल्पासहित सम्बन्धित निकायलाई पत्राचार गरेको छ। निर्माण क्षेत्रमा बटुवा, खच्चड तथा घरपालुवा जनावरको आवतजावतले काममा अवरोध हुन सक्ने भएकाले निर्माण अवधिभर वैकल्पिक बाटो प्रयोगको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको प्राविधिक प्रमुख सेनानी पराजुलीले बताउनुभयो।
सरकारले गत चैतमा ल्यासीक्याप–सिसौल सडकखण्ड निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। करिब ३३ देखि ३५ किलोमिटर लामो यो सडकखण्ड अत्यन्तै भिरालो तथा कडा चट्टानी भूभागमा पर्ने भएकाले यसअघि निजी निर्माण कम्पनीमार्फत अपेक्षित गतिमा काम हुन सकेको थिएन।
सेनाले अहिले आवश्यक उपकरण तथा निर्माण सामग्री मुस्ताङबाट लैजाने तयारी गरेको छ। निर्माणको वास्तविक लम्बाइ यकिन गर्न सर्वेक्षणको कामसमेत गरिने प्राविधिक प्रमुख सेनानी पराजुलीले बताउनुभयो। उहाँका अनुसार हाल सेनालाई करिब ३३ किलोमिटर सडक निर्माणको जिम्मेवारी दिइएको छ।
डोल्पाको सदरमुकाम दुनैदेखि ल्यासीक्यापसम्मको सडक निर्माणका लागि यसअघि नै ठेक्का लागिसकेको छ। तर तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सेनाले जिम्मेवारी पाएको माथिल्लो खण्डमा आवश्यक उपकरण पुर्याउन मुस्ताङतर्फबाट जोडिएको सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। दुनै–ल्यासीक्याप खण्ड छिटो निर्माण भएमा सेनाले जिम्मेवारी लिएको माथिल्लो क्षेत्रसम्म निर्माण सामग्री तथा उपकरण पुर्याउन थप सहज हुने देखिएको छ।
यसअघि पटक–पटक सडक निर्माणको प्रयास भए पनि कठिन भूगोल, कडा चट्टान र अन्य प्राविधिक समस्याका कारण ल्यासीक्याप–सिसौल खण्डमा सडकको ट्र्याक खोल्ने काम अघि बढ्न सकेको थिएन। सडकको पहुँच नहुँदा उपल्लो डोल्पाका नागरिकले वर्षौंदेखि यातायात, स्वास्थ्य, शिक्षा तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो समस्या झेल्दै आएका छन्।
भेरी करिडोरलाई नेपाल, भारत र चीन जोड्ने रणनीतिक महत्वको सडकका रूपमा लिइन्छ। बाँकेको जमुनाहबाट सुरु हुने यो सडक सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरेर चीनको मरिम्लासम्म पुर्याउने लक्ष्य राखिएको छ।
भेरी करिडोरको माथिल्लो डोल्पासम्म सडक पहुँच विस्तार भएपछि यस क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै स्वास्थ्य उपचार, शिक्षामा पहुँच र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। साथै चीनसँगको सीमा नाकासम्म सडक सञ्जाल विस्तार हुने भएकाले व्यापारिक तथा रणनीतिक दृष्टिले पनि यो सडकलाई महत्वपूर्ण मानिएको छ।






