खाजा खर्च जोगाएर भोटेकोशी पीडितलाई विद्यार्थीको सहयोग

बाँके, २७ भदौ ।
बाँकेका विद्यालयले आफ्ना औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रम रद्द गरी बाढीपीडितका लागि रु.६५ लाख बराबरको सहयोग सङ्कलन गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार साना बालबालिकादेखि माध्यमिक तहका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकसमेत स्वतःस्फूर्त रूपमा राहत अभियानमा सहभागी भएका थिए ।
जिल्लाका प्याब्सनमा आबद्ध ७७ विद्यालयका विद्यार्थीले आफ्नो नियमित खाजा खर्चबाट बचाएको रकमसमेत सहयोग गरेका छन् । विद्यालयले सांस्कृतिक तथा अन्य औपचारिक कार्यक्रमका लागि छुट्याएको बजेट कटौती गरी राहतका लागि रकम उपलब्ध गराएका छन् ।
अध्यक्ष बज्राचार्यका अनुसार केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गरेका छन् भने अन्य विद्यालयबाट रु ५३ लाख ४१ हजार ४०६ प्याब्सन बाँकेको खातामा जम्मा भएको छ । यसरी बाँकेबाट रु ६५ लाख बराबरको सहयोग जुटेको हो ।
देशभरका प्याब्सनबाट सङ्कलन हुने रकम एकमुष्ट केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिनेछ । केन्द्रीय समितिले रु १० करोड सङ्कलन गरी कोषमा दाखिला गर्ने योजना रहेको अधयक्ष बज्राचार्यले जानकारी दिए ।





