१४ करोड फिर्ता गर्ने जुम्ला दियालो सहकारीकाे निर्णय, ६ महिनाको अल्टिमेटम

गाेल्डेन बुढा
जुम्ला ,२९ चैत ।
जुम्लामा अवस्थित दियालो बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरिएको करोडौं रकम फिर्ता नपाएपछि सयौं बचतकर्ता पीडित बनेका छन्। जुम्लाको पातारासी गाउँपालिका–७ रिनी गाउँकी पम्फाकली बुढाले सहकारीमा ११ लाख रुपैयाँ बचत गरेको बताउँछिन्। खेतबारीमा उत्पादन गरेको आलु, स्याउ, सिमी, ओखर, तरकारी तथा भेडा बिक्री गरेर जम्मा गरेको रकम फिर्ता नपाउँदा उनी निराश छिन्।उँही गाउँकी रुधकली बुढाको १२ लाख, बेलमाया खड्काको १ लाख र मुनसरी बुढाको ५० हजार रुपैयाँ सहकारीमा अड्किएको छ। यस्तै जुम्लाको तिला गाउँपालिका–९ की विष्णुमाया बुढाले पनि ११ लाख ६५ हजार रुपैयाँ फिर्ता नपाएको गुनासो गरिन्।पीडितहरूका अनुसार सहकारीले १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएर बचत गराएको थियो। तर अहिले रकम फिर्ता गर्न आनाकानी गरिरहेको आरोप छ। अर्को हिमा गाउँपालिका–६ का अपांगता भएका सूर्यबहादुर अधिकारीले ‘भोलिका लागि सहारा होला’ भन्ने आशामा बचत गरेको १ लाख ७० हजार रुपैयाँ नपाएको बताए। यस्तै टोमा छिरिङ लामाले एनआइसी एसिया बैंकबाट झिकेको १२ लाख रुपैयाँ सहकारीमा राखे पनि फिर्ता पाउन सकेका छैनन्। पातारासी–६ का भुवन सिंहले राष्ट्रिय वाणिज्य बैंक र घरमा रहेको गरी ५ लाख रुपैयाँ सहकारीमा जम्मा गरेको बताए। पातारासी–४ का दत्तबहादुर बुढाको १० लाख रुपैयाँ पनि अड्किएको छ।यी प्रतिनिधि पात्र मात्र हुन्। दियालो सहकारीबाट पीडित हुने बचतकर्ताको संख्या सयौंमा पुगेको छ। गाउँका साना किसानदेखि श्रम गरेर कमाउने सर्वसाधारणसम्मको पसिना यसरी रोकिँदा सहकारीप्रति भरोसा गम्भीर रूपमा डगमगाएको छ।
गत पुस १३ गते बचतकर्ताहरू रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। सहकारीले यसअघि चरणबद्ध रूपमा रकम फिर्ता गर्ने वाचा गरे पनि समयमै कार्यान्वयन नगरेपछि उनीहरू पुनः आन्दोलनमा फर्किएका हुन्। वाचा र वास्तविकताबीचको दूरीले सहकारीको विश्वसनीयता झन् खस्किएको छ।बिहीबार जुम्लामा सहकारी, बचतकर्ता र प्रशासन कार्यालय जुम्लाबीच भएको त्रिपक्षीय छलफलपछि १४ करोड रुपैयाँ बचत फिर्ता गर्ने सहमति भएको छ। भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय, वीरेन्द्रनगर सुर्खेतका रजिष्ट्रार खिमानन्द अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।सहकारीले वैशाखदेखि असोजसम्म ६ महिनाभित्र सबै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। तर विगतका अपूरा प्रतिबद्धताका कारण बचतकर्ताहरू अझै ढुक्क हुन सकेका छैनन्।बचत फिर्ता प्रक्रिया सहजीकरणका लागि सात सदस्यीय समिति गठन गरिएको छ, जसले प्राथमिकताका आधारमा रकम फिर्ता गर्नेछ। सहकारीले तीन वर्षदेखि साधारण सभा नगरेको, लेखापरीक्षण नगरेको तथा मापदण्डविपरीत लगानी गरेको तथ्य पनि छलफलमा उठेको थियो,जसले व्यवस्थापनको लापरबाही र नियमनको कमजोरी उजागर गर्छ।सहकारीका अनुसार ३ हजार ९ सय २८ बचतकर्ताको ११ करोड ९८ लाख रुपैयाँ बचत र १ करोड ६ लाखभन्दा बढी सेयर रकम फिर्ता गर्न बाँकी छ।
यस्तै २ सय ३० ऋणीबाट करिब २० करोडभन्दा बढी कर्जा असुली हुन बाँकी छ।बचतपीडित संघर्ष समितिका अध्यक्ष धर्मानन्द धितालले अब ६ महिनाभित्र रकम फिर्ता नभए कडा कदम चालिने चेतावनी दिए। सहकारीका अध्यक्ष टेकबहादुर शाहीले भने कार्ययोजना बनाएर निर्धारित समयमै रकम फिर्ता गर्ने दाबी गरे।समन्वय प्रमुख गौरीनन्द आचार्यका अनुसार आवश्यक मापदण्ड तयार गरी सोही आधारमा बचत फिर्ता प्रक्रिया अघि बढाइनेछ। निर्णय अनुसार दियालो सहकारीले अबको ६ महिनाभित्र बचतकर्ताहरूको बचत फिर्ता गर्ने लक्ष्यसहित कार्ययोजना बनाउनेछ। साथै कर्जा असुली कार्यलाई प्रभावकारी बनाउन स्पष्ट समयसीमा र जिम्मेवारी निर्धारण गरी सञ्चालन गरिने जनाइएको छ।जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सहकारीलाई कार्ययोजना अनुसार काम गरी बचत फिर्ता प्रक्रिया तीव्र बनाउन निर्देशन दिएका छन्। व्यवस्थापक दिपक शाह लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त छलफलले समस्या समाधानको खाका कोरे पनि कार्यान्वयन नै अबको मुख्य परीक्षा हुनेछ।






