सीमान्तकृत र विपन्न वर्गका चेलीहरूलाई  विद्यालयमा टिकाइराख्न डुङ्गेश्वरले बनायो गुरुयोजना

भक्तबहादुर शाही 

दैलेख, २६ भदौ । 

कर्णालीका जिल्लाका ग्रामिण भेगमा अझै पनि उमेर नपुग्दै विहेवारी गरिदिने चलन कायमै छ । विहेपछि कापी–कलम समात्ने हातहरूमा चुलोचौको र मेलापातले बीचैमा विद्यालय छाड्नुपर्ने तितो यथार्थ हो । तर दैलेखको दक्षिणमा पर्ने डुङ्गेश्वर गाउँपालिकाले भने अब हाम्रा पालिकाका पिडा बदल्ने अठोट लिएको छ । 

किशोरीहरूको शिक्षालाई निरन्तरता दिन र बालविवाहको चक्रव्यूहलाई तोड्न आइपास नेपालको प्राविधिक सहयोग र सोसेक नेपालको सहजीकरणमा किशोरीहरु उच्च शिक्षाबाट बञ्चित नहुन र विचमै विद्यालय छाडनु पर्ने बाध्यता हटाउन गुरुयोजना बनाएको छ । दुई दिनसम्म चलेको सरोकारवालाहरूको छलफलपछि गाउँमै यो विकृति विरुद्ध लड्ने ठोस गुरुयोजना तयार पारिएको हो ।

कार्यशाला गोष्ठीमा गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले कर्णालीको यो दुःखद पाटोलाई स्वीकार्दै कर्णालीकीकी छोरीलाई उच्च शिक्षा दिलाउन सबैलाई एकजुट हुनपर्ने बताए । “बालविवाह र कम उमेरको गर्भधारणले हाम्रा फूलजस्ता चेलीहरूको भविष्य ओइलाइरहेको छ ।” उनले भने, “दिगो विकासको लक्ष्य भेट्न र यो साझा चुनौतीलाई जरैदेखि उखेल्न अब सिंहदरबारको ऐन मात्र होइन, हाम्रा टोल–टोल र घर–घरमा चेतनाको दियो बाल्नुपर्छ ।‘

त्यसैगरी न्यायिक समितिकी संयोजक एवं गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले बीचैमा पढाइ छाड्ने छात्राहरूको संख्या बढ्नु पालिकाको सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको बताइन् । “अब भाषण र आश्वासनले पुग्दैन, साझेदार संस्थाहरूसँग हातेमालो गरेर गाउँको माटोमा परिणाम देखिने गरी काम गर्नुपर्छ ।” किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य परामर्श र परिवार नियोजनका साधन वितरण गर्दा उनीहरूको सामाजिक गोपनीयताको पूर्ण ग्यारेन्टी गर्न आवश्यक छ । जसले गर्दा उनीहरू बिनाकुनै संकोच खुलेर आफ्ना समस्या भन्न सकून् उनले थपिन ।

पालिकाका प्रवक्ता समेत रहेका वडानं –५ वडाअध्यक्ष प्रबलाल शर्माले यो अभियानलाई केवल कागजको पानामा मात्र सीमित हुन नदिने बताए । बालविवाह न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना बनिसकेको र यसलाई पालिकाभरि कडा रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत श्रीशम्सेर रानाने किशोर–किशोरीका संवेदनशील समस्यामा केन्द्रित यो कार्यशालालाई अति नै समयसापेक्ष भन्दै यस्ता कार्यक्रमलाई पालिकाले निरन्तर बजेट र आफ्नो पूर्ण साथ दिने बताए । 

चेलीको चित्कार कम गर्न समुदायको भूमिका महत्वपुर्णः देवकोटा

कार्यक्रमका सहजकर्ता जीवन देवकोटाले कानुनको डर देखाएर मात्र बालविवाह र कम उमेरका किशोरीको गर्भधारण रोक्न नसकिने बताए । ग्रामिण भेगका चेलीहरूको मनभित्रको पिडालाई औल्याउदै भने, “बालविवाहका कारण पैदा हुने चेलीको चीत्कार कम गर्न कानुन मात्र होइन, समुदायको भूमिका सबैभन्दा महत्वपुर्ण हुन्छ । जबसम्म समुदाय आफै भित्रबाट जाग्दैन,र सरोकारवाला निकायबीच बलियो समन्वय हुँदैन, तबसम्म कानुनका किताबहरू दराजमै कार्यान्वयन हुदैन,दराजमै थन्किरहन्छन् । 

दुई दिनसम्म चलेको यो वैचारिक छलफलको पहिलो दिन बाल अधिकार, कानुनी व्यवस्था र बालविवाहले आमा र शिशुको स्वास्थ्यमा पार्ने जोखिमबारे गम्भीर छलफल भएको थियो भने दोस्रो दिनमा किशोरीहरूलाई जीवन उपयोगी सीप सिकाउने, विद्यालयमा छात्रामैत्री सुरक्षित वातावरण बनाउने र समुदायलाई जागरुक बनाउने व्यावहारिक उपायहरू बारे जानकारी दिईएको थियो । 

गोष्ठीमा स्थानीय सरकार, नेपाल प्रहरी, पत्रकार र सामाजिक संघ–संस्थाहरूले फरक–फरक समूह बनाएर पालिकामा बालविवाह र विद्यालय छोड्ने दरलाई शून्यमा झार्ने एउटा प्रतिबद्ध कार्ययोजना पास गरेका छन् । यो सकारात्मक प्रयासले  डुङ्गेश्वर पालिकामा रहेका सीमान्तकृत र विपन्न वर्गका किशोरी(चेलीहरू) लाई विद्यालयको आँगनमै टिकाइराख्न र उनीहरूको सुनौलो भविष्य सुनिश्चित हुने विश्वास लिएको छ । 

सीमान्तकृत र विपन्न वर्गका चेलीहरूलाई   विद्यालयमा टिकाइराख्न डुङ्गेश्वरले बनायो गुरुयोजना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

सीमान्तकृत र विपन्न वर्गका चेलीहरूलाई   विद्यालयमा टिकाइराख्न डुङ्गेश्वरले बनायो गुरुयोजना

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *