बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत

बाँके ,२६ फाल्गुन ।
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत भएको छ।
५६ जना उम्मेदवार मध्ये ४७ जनाले जमानत जोगाउनै सकेनन् । खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
क्षेत्र नम्बर १ मा १४ जना मध्ये ११ जनाको जमानत जफत भएको छ । सार्वजनिक मत परिणाम अनुसार यहाँ रास्वपा, काँग्रेस र एमालेका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ । क्षेत्र नम्बर २ मा २० जना उम्मेदवार मध्ये १७ जनाको जमानत जफत छ । निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीका अनुसार क्षेत्र नम्बर २ मा पनि रास्वपा, एमाले र काँग्रेसका उम्मेदवारले मात्र जमानत जोगाउन सके ।
यसै गरी क्षेत्र नम्बर ३ मा १९ जनाको जमानत जोगिएन । रास्वपा, काँग्रेस र एमालेले मात्र जमानत जोगाउन सफल भए । यहाँ २२ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायतका दलका उम्मेदवारले समेत जमानत जोगाउन सकेनन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको जमानत (धरौटी )जफत हुने उल्लेख छ ।






