बुबाको उपचार गर्न हिडेका छाेराकाे यात्रामै मृत्यु
गाेल्डेन बुढा
२६, चैत २०८२
बुवाको उपचारको आशा बोकेर हिँडेको यात्रा बीच बाटोमै टुट्यो, र एउटा परिवारको सपना सडकको मोडमै चकनाचुर भयो।जुम्लाको हिमा गाउँपालिका–७ पातरखोला गाउँका भीमबहादुर अधिकारी ७१ वर्षीय बुवा कलबहादुर अधिकारीको उपचार गर्न बुधवार एम्बुलेन्समा सुर्खेततिर जाँदै थिए। आफन्तहरूसँग भेट हुँदा उनले भनेका थिए,जसरी पनि बुवालाई निको पारेर घर फर्काउनेछु। तर त्यो प्रतिज्ञा पूरा हुन नपाउँदै उनी आफैं सधैंका लागि बिदा भए। ६ दिनसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले उनलाई युरो सर्जरीका लागि नेपालगन्ज रेफर गरेका थिए।उनी गत चैत २० गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका हुन्।भीमबहादुरले सुरुमा जहाजकै प्रतीक्षा गरे। समयसँग दौडिरहेको एउटा छोरा, जसलाई थाहा थियो ढिला भयो, भने बुवाको साससँगै आशा पनि हराउन सक्छ। तर मौसमले साथ दिएन। जहाज आएन। अन्ततः उनले एम्बुलेन्स रोजे।शायद अन्तिम विकल्प, तर त्यही विकल्प उनको जीवनको अन्तिम यात्रा बन्यो।बुधबार दिउँसो १ बजे उनले फेसबुकमा लेखेका थिए, ‘आज जुम्लादेखि सुर्खेत यात्रा शुभ रहोस्, जुम्लामा हवाईजहाज नआएर एम्बुलेन्समै लागियो।’ तस्बिरमा उनी आफन्तहरूसँगै देखिन्छन्।आशा, चिन्ता र भरोसाको मिश्रण। अहिले त्यो तस्बिर नै उनको अन्तिम सम्झनाको रूपमा सामाजिक सञ्जालमा घुमिरहेको छ।बुवालाई निको बनाएर घर फर्काउने सपना उनको आँखामा थियो। तर नियतिले यस्तो मोड लियो,न बुवाको उपचार पूरा भयो, न त त्यो पुनर्मिलनको क्षण आयो।
एम्बुलेन्स दुर्घटनाले उनी आफैंलाई बुवाबाट सधैंका लागि टाढा बनाइदियो।प्रहरीका अनुसार दिउँसो २ बजे जुम्लाको सदरमुकाम खलंगाबाट छुटेको एम्बुलेन्स बेलुकी पौने ८ बजे कालिकोटमा दुर्घटनामा परेको हो। बाक्लो हुस्सुले सडक अदृश्य जस्तै बनाएको थियो। ‘गाडी चलाउन निकै असहज थियो,’ कालिकोटका डीएसपी हिमबहादुर खत्रीले भने, ‘हुस्सु नै दुर्घटनाको मुख्य कारण हुन सक्छ।’सडकदेखि करिब २५ मिटर तल खसेको एम्बुलेन्सले दुई ज्यान लियो,चालक हिमा-७ मर्चीगाउँका शक्तिबहादुर शाही र भीमबहादुर अधिकारी।बिरामी कलबहादुर भने घाइते अवस्थामा बचाइएका छन्। उनको खुट्टामा चोट लागेको छ र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। अर्का यात्रु हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ।जुम्लाकाे हिमा गाउँपालिकाकाे ना०१००१झ ००२४ नम्बरको एम्बुलेन्स हो।‘यो एक जना व्यक्तिको मृत्यु होइन,’ हिमा–६ का जीवन रावत भन्छन्, ‘यो एउटा सोच, एउटा ऊर्जा, एउटा परिवर्तनको आकांक्षा गुमाउनु हो।’२०७४ सालमा वडा सदस्य निर्वाचित भएका भीमबहादुर गाउँका सक्रिय, विचारशील र समाजप्रति समर्पित व्यक्ति मानिन्थे। उनको मृत्युपछि अहिले गाउँभरि उनका काम र योगदानको चर्चा छ,तर त्यो चर्चा अब सम्झनामा सीमित छ।कर्णालीका दुर्गम सडक, अनिश्चित मौसम र कमजोर स्वास्थ्य पहुँचको त्रासदी यस घटनामा फेरि एकपटक नाङ्गिएको छ। उपचार खोज्दै हिँड्दा ज्यान गुमाउनु पर्ने यथार्थ यहाँ नयाँ होइन,तर हरेक पटक यो पीडा उस्तै गहिरो हुन्छ। अधिकारीकाे शव आफन्तले बुझेका छन्।





