प्रदेशसभा सचिव बुढाथोकीले दिए राजीनामा
सुर्खेत, २६ चैत ।
आफुमाथि लागेको आरोपकाबिच कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका थिए । उनको राजिनामा प्रदेश प्रमुखको कार्यालयले स्वीकृतसमेत गरिसकेको छ । सचिव बुढाथोकीमाथि पछिल्लो समय विभिन्न विवादहरू उठ्दै आएका थिए ।
विशेष गरी दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको तथा प्रचलित नियमावली उल्लंघन गरेको आरोप लाग्दै आएको थियो । यसका साथै उनले आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ रुपैयाँ भुक्तानी लिएको विषय सार्वजनिक भएपछि उनको तीव्र आलोचना भएको थियो ।
उक्त आरोपहरूका आधारमा बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी समेत परेको थियो । विवाद बढ्दै गएपछि उनले अन्ततः उनले पदबाट राजीनामा दिने निर्णय लिएका हुन् । ६५ वर्ष उमेर पूरा भए पनि पदमा रहन संघर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चार माध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो ।
चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन बाध्य भएका हुन् । प्रदेश सचिव बुढाथोकी पछिल्लो समय निकै विवादमा तानिएका पात्र हुन् । दोहोरो सुविधा लिनेदेखि आफ्नो स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर लाखौँ भुक्तानी लिएको भन्दै उनको आलोचना भइरहेको छ । विगतमा केन्द्रको संसद् सचिवालयमा काम गरेका उनले दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पटक पत्र काटेको थियो । तर उनका धेरैजसो अभिलेख सचिवालयमा नभेटिने गरेको कर्मचारीहरू बताउँछन् ।
उनी ६५ वर्ष नाघेको कुरा पनि बाहिरी रूपमा थाह पाएपछि कर्मचारीले पत्र लेखेर बायोडाटा माग्नु परेको थियो । अहिले सांसदका स्वकीयहरूको पारिश्रमिक रोकेका बुढाथोकीले आफ्नो स्वकीय श्रीमतीको भने नियमित तलब लिइरहेको भन्दै सांसददेखि कर्मचारीहरु समेत उनको गतिविधिबाट दिक्क थिए ।





