१३ वर्षयता मन्ताभिर र भेरी नदीको पुलमा बन्धक छ मध्यपहाडी राजमार्ग

ओम शाही
सुर्खेत, २८ चैत ।
मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारण रहेको निष्कर्ष निकाल्दै सरकारले आर्थिक वर्ष २०६४/०६५ मा मध्यपहाडी राजमार्गको परिकल्पना गर्यो । संघीय सरकारले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।
तत्कालीन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित यो सडकको परिकल्पना गरिएको थियो । आर्थिक वर्ष २०६९/०७० बाट सरकारले मध्यपहाडी राजमार्गलाई ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गरेर निर्माणलाई तीव्रता दियो । आयोजनाका अनुसार मध्यपहाडी राजमार्ग बनाउनुको पहिलो उद्देश्य मध्यपहाडका झण्डै ५० लाख नागरिकलाई प्रत्यक्ष सुविधा पुर्याएर यहाँबाट भइरहेको बसाइँसराइ रोक्नु होे ।
कुनै बेला मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग मात्रै एउटा राजमार्ग थियो । चुरेको फेदैफेद पूर्व–पश्चिम जोड्ने यो सडक नआई पूर्व–पश्चिम यात्रा सम्भव थिएन् । सरकारले रित्तिंदो पहाडलाई गुल्जार बनाउन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु अपरिहार्य ठानेर मध्यपहाडमा सडक निर्माण थालेको थियो ।
सडक पूर्वाधार पहाडलाई गुल्जार बनाउने पहिलो शर्त पनि हो । यहीँ सडककै कारण मध्यपहाडलाई गुल्जार बनाउन सक्ने आधार खडा भएको हो । पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाट जोड्ने यो राजमार्गको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ । मध्यपहाडी लोकमार्गले कर्णालीका तीन जिल्ला रुकुम पश्चिम, जाजरकोट र दैलेख भएर पूर्वपश्चिम लाग्छ ।
बिडम्बना निर्माण थालिएको झण्डै १३ वर्षयता मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा पर्ने मन्ताभिर र भेरी नदीमाथिको अलपत्र पुलले राज्यको ल्याकत नापिरहेको छ । मन्ताभिरमा बाटो र भेरीमा पुल बनेको भए दैलेखबाट पोखरा जाने गाडीले मध्यपहाडी लोकमार्ग छोड्नु पर्दैन । रुकुम पश्चि र दैलेख खण्डको काम अन्तिम चरणमा रहँदा जाजरकोटको छेडागाड नगरपालिकास्थित झण्डै सात सय मिटर लामो मन्ताभिरको चट्टानका कारण सडकले पूर्णता पाउन सकेको छैन । यहीँ भिरका कारण सवारीसाधनले लामो रुट प्रयोग गर्नु परिरहेको छ ।
जाजरकोटमा कुल ८५ किलोमिटरमध्ये मन्ताभिरसहित ३५ किलोमिटरबाहेक अन्यत्र सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने रुकुम पश्चिममा १३ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । अहिले दैलेखबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटको बडावनसम्म नियमित सवारीसाधन सञ्चालनमा छन् । तर, मन्ताभिरमा सडक नबनेका कारण मध्यपहाडी राजमार्ग छोडेर छिन्चु–जाजरकोट सडकखण्डको छेडा बजार पुग्नुपर्ने बाध्यता छ ।
यसपछि छिन्चु–जाजरकोट सडक भएर खलंगा बजारहुँदै रुकुम पश्चिममा पर्ने मध्यपहाडी राजमार्ग पुुग्नुपर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–३, दसेराका स्थानीय रज्नबहादुर बुढाले बताए । यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१३ दारेगौरा र रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ अँधेरे जोड्ने भेरी नदीमाथिको पुल पनि १३ वर्षयता अलपत्र छ । यही पुलका कारण मध्यपहाडी लोकमार्गले पूर्णता पाउन सकेको छैन ।
पटक–पटक ठेक्का आह्वान गर्दा पनि निर्माण अघि नबढेपछि स्थानीयले राज्यप्रति तीव्र असन्तुष्टि जनाइहेका छन् । भेरी करिडोर तथा मध्य पहाडी लोकमार्गलाई जोड्ने मुख्य पूर्वाधारका रूपमा हेरिएको उक्त पुल निर्माण हुन नसक्दा दुई जिल्ला अझै प्रत्यक्ष रूपमा जोडिन सकेका छैनन् । पुलको दुवैतर्फ आधार पिल्लर खडा गरिए पनि निर्माण कार्य भने ठप्प छ ।
स्थानीयवासीका अनुसार पुल सबैले देख्ने ठाउँमा भए पनि यसको पीडा कसैले नदेखेको जस्तै छ । सामाजिक सञ्जालमा दैनिक जसो पुलका तस्बिर सार्वजनिक गर्दै आलोचना गरिए पनि राज्य संयन्त्र भने बेखबरजस्तै देखिएको उनीहरूको गुनासो छ । भेरी नगरपालिका–१३ का वडाध्यक्ष यज्ञबहादुर बटालाले पुल नबन्दा सर्वसाधारणले ठूलो सास्ती भोग्दै आएको बताए । ‘चौरजहारीस्थित अस्पतालमा उपचारका लागि जानेदेखि अन्य कामका लागि जाने नागरिकहरू समस्यामा छन्,’ उनले भने, ‘पुल नहुँदा मध्यपहाडी लोकमार्ग जाजरकोटमा जोडिन सकेको छैन ।,’
२०६९ सालमा मध्य पहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तर, ठेकेदार कम्पनीले काम नगरेपछि सम्झौता भएको झण्डै एक दशकपछि २९ मंसिर २०७९ मा ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दसँगै ७२ लाख रुपैयाँ धरौटी र २ करोड ६० लाख रुपैयाँ पेस्की जफत गरिएको छ भने सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार ८ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
कुल १८ करोड लागत अनुमान गरिएको यो आयोजना अझै अलपत्र नै छ । पुल निर्माण नहुँदा मध्यपहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रे कार्यसमेत प्रभावित भइरहेको छ । रुकुमपश्चिमबाट जाजरकोटसम्म सिधा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार पुल निर्माणका लागि नयाँ डिजाइनसहितको प्रस्ताव सडक विभागमा पठाइएको छ ।
नदीको बहाव बढेकाले तटबन्धसहित नयाँ डिजाइन तयार गरिएको र स्वीकृति पाएपछि यसै वर्ष टेण्डर आह्वान गर्ने तयारी रहेको उनले जानकारी दिए । यसअघि दोस्रो पटक आह्वान गरिएको टेण्डरमा उच्च लागत प्रस्ताव आएपछि सम्झौता हुन सकेन भने अर्को पटक कुनै पनि कम्पनीले प्रस्ताव पेश नगरेको कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्गको स्तरोन्नति तथा कालोपत्रे कामसमेत प्रभावित भइरहेको छ । रुकुम पश्चिम खण्डबाट जाजरकोटसम्म यातायात सञ्चालन हुन नसक्दा स्थानीयको दैनिक जनजीवन कष्टकर बनिरहेको छ । लुम्बिनी–रारा राजमार्गसमेत जोड्ने रणनीतिक महत्वको यो पुल निर्माण नहुँदा समग्र विकासको गति अवरुद्ध भएको सरोकारवालाहरू बताउँछन् ।






