बर्दियामा कृष्णसार संरक्षण संकटमा: चालु वर्षमै ५० वटा मरे, सुरक्षा कमजोरी मुख्य कारण

२७, चैत २०८२
बर्दिया ।बर्दियामा दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण गम्भीर संकटमा परेको छ। संरक्षणका लागि छुट्याइएको क्षेत्रमै सुरक्षा कमजोर देखिँदा चालु आर्थिक वर्षमै ५० वटा कृष्णसार मरेपछि सरोकारवालाहरू चिन्तित बनेका छन्। संरक्षण व्यवस्थामा देखिएको लापरबाही र संरचनागत कमजोरीले कृष्णसारको अस्तित्वमै चुनौती थपिएको छ।
बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रमा साउनयता वयस्क र बच्चासहित ५० वटा कृष्णसार मरेका छन्। कार्यालयका अनुसार चितुवा, छाडा कुकुर, हुँडार र स्यालको आक्रमणका कारण कृष्णसार मर्ने क्रम बढ्दो छ। गत साउनदेखि चैत तेस्रो सातासम्मको अवधिमा मात्रै यति ठूलो संख्यामा कृष्णसारको मृत्यु हुनु संरक्षणका लागि गम्भीर चिन्ताको विषय बनेको छ। हाल उक्त क्षेत्रमा करिब २ सय ४० वटा कृष्णसार मात्र बाँकी रहेका छन्।
कृष्णसार नेपालमा दुर्लभ प्रजातिका रूपमा सूचीकृत छन्, जसलाई वन्यजन्तु ऐन २०२९ ले विशेष संरक्षण दिएको छ। तर व्यवहारमा संरक्षण चुनौतीपूर्ण बन्दै गएको देखिन्छ। संरक्षण क्षेत्रमै सुरक्षा कमजोर हुँदा शिकारी जनावरहरू सहजै प्रवेश गरेर कृष्णसारमाथि आक्रमण गर्ने गरेका छन्।
सरकारले २०६५ साल चैत ३ गते बर्दियाको खैरिफाँटालाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो। करिब ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा उपयुक्त घाँसे मैदान र पानीको सुविधा उपलब्ध भएकाले कृष्णसारको संरक्षणका लागि महत्वपूर्ण मानिएको थियो। ऐतिहासिक रूपमा हेर्दा २०२० सालमा यहाँ केवल ९ वटा कृष्णसार मात्र रहेका थिए। संरक्षण प्रयाससँगै संख्या बढ्दै गएर २०५६ सालमा करिब ३ सय ५० वटासम्म पुगेको थियो।
संरक्षणलाई थप सुदृढ बनाउन २०६६ सालमा १० किलोमिटरभन्दा बढी क्षेत्रमा तारबार समेत लगाइएको थियो। तर, समयमै मर्मतसम्भार नहुँदा उक्त तारबार अहिले जीर्ण बन्दै गएको छ। मेस वायर तारजाली कमजोर हुँदा चितुवा, छाडा कुकुर, हुँडार र स्याल जस्ता शिकारी जनावरहरू सहजै संरक्षण क्षेत्रभित्र पस्ने गरेका छन्। यही कारण पछिल्लो समय कृष्णसारमाथि आक्रमण बढेको देखिन्छ।
कार्यालयका अनुसार सीमित बजेटका कारण तारबारको मर्मतसम्भार गर्न कठिन भइरहेको छ। यसले संरक्षण व्यवस्थामै प्रत्यक्ष असर पारेको छ। संरक्षण क्षेत्रभित्रको सुरक्षा प्रणाली कमजोर हुँदा कृष्णसार जस्तो संवेदनशील प्रजातिको जीवन जोखिममा परेको छ।
सरोकारवालाहरूका अनुसार हालको अवस्था सुधार्न तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। बलियो र स्थायी तारबार निर्माण, नियमित मर्मतसम्भार तथा सुरक्षा निगरानी कडा नगरेसम्म कृष्णसार संरक्षण सम्भव नहुने उनीहरूको भनाइ छ। साथै, संरक्षण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, जनशक्ति व्यवस्थापन र पर्याप्त बजेट विनियोजन पनि अपरिहार्य देखिएको छ।
यदि समयमै आवश्यक सुधारका कदम चालिएन भने कृष्णसारको संख्या अझै घट्दै जाने र अन्ततः यसको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दो छ। दुर्लभ वन्यजन्तुको संरक्षणका लागि सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय र सक्रियता अपरिहार्य बनेको छ।

बर्दियामा कृष्णसार संरक्षण संकटमा: चालु वर्षमै ५० वटा मरे, सुरक्षा कमजोरी मुख्य कारण

घुयँत्राे:“१३ दिनका मन्त्री, १३ वटा सपना र

Leave a comment

Your email address will not be published. Required fields are marked *