कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न माग
सुर्खेत, २६ चैत ।
सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले कर्णालीका रणनैतिक आयोजनालाई संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने छोटो मार्ग सुर्खेत– मुलपानी–रानिघाट–तेलपानी सडक खण्ड अन्तर्गतको वर्षौदेखि अलपत्र रानिघटस्थित भेरी नदीमाथिको पुल तत्काल निर्माण कार्य अघि बढाउन माग गरे ।
सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरा अस्पताल, सुर्खेत विमानस्थल विस्तार, सुर्खेत–२ को विद्युतिकरणको कामलाई युद्धस्तरमा अघि बढाउनु पर्ने माग उनको छ । कर्णाली लगायत देशभर अलपत्र परेका आयोजना समयमै टुङ्गोमा पुर्याउन द्रुत न्यायिक तथा निर्णायक संयत्र निर्माण गर्नुपर्ने माग उनको छ ।
४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना, ९०० सय मेगावाटको अपर कर्णाली जलविद्युत र सुर्खेतको चौकुने सिमेन्ट कारखान वर्षौदेखि अलपत्र रहेको विषयमा सापकोटाले सरकारको ध्यानाकर्षण गराए । कतिपय आयोजनाहरु प्रक्रियागत विवादले अन्यौलता कायम रहेको र कतिपय आयोजनाहरु इजाजत लिएर वर्षौदेखि होल्ड भएको उनले बताए । यसको अन्त्य सरकारले नीतिगतरुपमा गर्ने विश्वास सांसद सापकोटाको छ ।
उनले कर्णालीका उत्तर दक्षिण लाइफलाईन कर्णाली र भेरी कोरिडोरको पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिन माग गरे । त्यस्तै, कर्णाली प्रदेश अस्प्पतालको स्तरोन्तीमा संघीय सरकारको ध्यानाकर्षण उनले गराए । उनले कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा पुर्याइरहेको अस्पतालमा स्वीकृत दरवन्दीको आधा मात्रै जनशक्ति व्यवस्थापन हुनु दुखद् रहेको उल्लेख गर्दै अस्पताललाई पाँच सय शैयामा विस्तार गर्न संघीय सरकारले तत्काल काम थाल्नु पर्ने माग गरे ।





