२ गोलले पछि परेको अर्जेन्टिनाको अन्तिम ११ मिनेटमा रोमाञ्चक जित

काठमाडौं ,२४ असार ।
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध रोमाञ्चक ३–२ को जित निकालेको छ ।
दुई गोलले पछि परेको अर्जेन्टिना क्रिस्टियन रोमेरो, कप्तान लियोनेल मेस्सी र एन्जो फर्नान्डेजको गोलले टोलीले खेलको अन्तिम ११ मिनेटमा नतिजा उल्ट्याउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
इजिप्टले खेलको सुरुवातदेखि नै आक्रामक शैलीमा खेलेको थियो । १५ औं मिनेटमा यासेर इब्राहिमले हेडरमार्फत गोल गर्दै इजिप्टलाई १–० को अग्रता दिलाए । गोलकिपर मोस्ताफा शोबेइरले लियोनेल मेस्सीको पेनाल्टी रोक्न सफल भए । साथै, एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रयासहरूलाई पनि विफल पारे ।
दोस्रो हाफमा पनि इजिप्टले निरन्तर दबाब कायम राख्यो । फाउलका कारण एउटा गोल अमान्य भएपछि ६७ औं मिनेटमा मोस्तफा जिकोले गोल गरे । मोस्तफाले मोहम्मद सलाह र हैथम हसनले गरेको काउन्टर अट्याकलाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए । यस गोलसँगै इजिप्ट २–० ले अघि बढ्दै विश्व च्याम्पियन अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिर पठाउने देखिएको थियो ।
तर दुई गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्यो । ७९ औं मिनेटमा पहिलो गोल गर्दै क्रिस्टियन रोमेरोले टोलीलाई आशा देखाए । त्यसको चार मिनेट अर्थात् ८३ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसलगत्तै इन्जुरी समय (९० प्लस ३ औं मिनेट)मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाका लागि ३–२ को जित सुनिश्चित गरे ।






