लुम्बिनी प्रदेशकै उत्कृष्ट कोहलपुरकि लघु उद्यमी काफ्लेलाई डा. हरिहरदेव पन्त पुरस्कार

बाँके ,२१ भदौ ।
लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ कोहलपुरकी लघु उद्यमी शोबिता काफ्लेले प्राप्त गर्नुभएको छ। ‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवसका अवसरमा काफ्लेलाई प्रदेशकै सर्वोत्कृष्ट लघु उद्यमीका रूपमा नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर शाखाको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले काफ्लेलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।
लुम्बिनी प्रदेशमा रहेका एक लाखभन्दा बढी महिला लघु उद्यमीमध्ये विभिन्न मापदण्डका आधारमा काफ्ले सर्वोत्कृष्ट छनोट हुनुभएको शाखा प्रमुख वीरेन्द्रप्रसाद चौधरीले बताउनुभयो। उहाँका अनुसार उद्यमको अवस्था, कर्जाको सदुपयोग, व्यवसाय विस्तार, रोजगारी सिर्जना, नियमितता तथा उद्यमशीलताप्रतिको सक्रियतालगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट उद्यमी छनोट गरिएको हो।
उहाँका अनुसार २०४७ सालमा स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा हाल देशभर चार लाखभन्दा बढी महिला उद्यमी आबद्ध छन्। संस्थाले सातवटै प्रदेशमा लघु उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ ।


‘महिला दिदीबहिनीलाई समूहमा आबद्ध गराएर बिना धितो सात लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएका छौँ,’ चौधरीले भन्नुभयो, ‘कर्जालाई उत्पादनशील क्षेत्रमा लगानी गरी उद्यम विस्तार गर्न सके यसले परिवारको आयस्तर बढाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्छ।’
प्रमुख चौधरीले लघु उद्यमशीलताको क्षेत्रमा काम गर्ने उद्यमीको मनोबल बढाउँदै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले २०७३ सालदेखि प्रदेशस्तरमा ‘डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिनुभयो।
कोहलपुर नगरपालिका–१ स्थित कौशिलानगरको १३२ नम्बर केन्द्रकी सदस्य काफ्लेले निर्धन उत्थान लघुवित्तबाट कर्जा लिएर २०७८ सालदेखि ‘डिर्भाइन केमिकल इन्डस्ट्रिज’ सञ्चालन गर्दै आउनुभएको छ। उहाँको उद्योगबाट हाल ११–१२ जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। आगामी दिनमा सरसफाइसँग सम्बन्धित सामग्रीको उत्पादनलाई थप विस्तार गर्ने योजना रहेको काफ्लेले बताउनुभयो।
‘सानो पुँजीबाट पनि मेहनत र सही योजनाका साथ उद्यमी बन्न सकिँदो रहेछ। यो पुरस्कारले मलाई अझै राम्रो काम गर्न थप हौसला र ऊर्जा दिएको छ,’ काफ्लेले भन्नुभयो, ‘अब सरसफाइसँग सम्बन्धित सामग्रीको उत्पादनलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचमा छु।’


कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष जैसीले लघुवित्त संस्थामार्फत महिलालाई उद्यमशील बनाउने कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। लघुवित्तका बारेमा नकारात्मक धारणा मात्र बनाउनु उचित नभएको उहाँको भनाइ थियो।
‘लघुवित्तले महिला दिदीबहिनीलाई टाट बनायो भन्ने गलत सन्देशलाई चिर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘ऋण लिएर सिपमूलक तथा आयआर्जनमूलक काममा लगानी गर्न सके त्यसले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छ।’
कार्यक्रमकी सभापति तथा कौशिलानगर १३२ नम्बर केन्द्रकी प्रमुख चेतना सिंहले ऋण लिएका महिलाले मेहनतका साथ कर्जाको सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताउनुभयो। निर्धन उत्थान लघुवित्तले विपन्न तथा न्यून आय भएका परिवारका महिलालाई आर्थिक गतिविधिमा जोड्न महत्वपूर्ण सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि बिन्दु कुमारी शाही, गङ्गा विक र कविराम पुलामी लगायत निर्धनमा आवद्ध महिल दिदीबहिनीको सहभागिता थियो।


जनप्रतिनिधि गङ्गा विकले संस्थाले महिलामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराएको बताउनुभयो। लघुवित्तसँग जोडिएपछि धेरै महिला आर्थिक रूपमा आत्मनिर्भर बन्न थालेको उहाँको भनाइ थियो।


संस्थाका लेखापाल उत्तमराज विष्टले स्वागत मन्तव्य व्यक्त गर्दै लघु उद्यमी तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले सस्थाले हरेक बर्ष उत्कृष्ट महिला उद्यमि अनि उत्कृष्ट विद्यार्थीलाई समेत नगद १० हजार रुपैयाँ सहित सम्मान गर्ने गरेको बताउनु भयो।
कार्यक्रमको सञ्चालन नम्रता विष्टले गर्नुभएको थियो। डा. हरिहरदेव पन्तको २०७२ साल भदौ २१ गते निधन भएको थियो। उहाँको स्मृतिमा संस्थाले हरेक वर्ष उत्कृष्ट लघु उद्यमीलाई सम्मान गर्दै आएको छ।

लुम्बिनी प्रदेशकै उत्कृष्ट कोहलपुरकि लघु उद्यमी काफ्लेलाई डा. हरिहरदेव पन्त पुरस्कार

बास नेपालको २३औँ साधारण सभा सम्पन्न, सुशासन

Leave a comment

Your email address will not be published. Required fields are marked *