हुम्लाका १० गम्भीर कुपोषित बालबालिका जुम्ला रिफर

गाेल्डेन बुढा
जुम्ला,२३ बैशाख ।
आफ्नो जिल्लामा विशेष पोषण सेवा नहुँदा हुम्लाका १० जना गम्भीर कुपोषित बालबालिकालाई उपचारका लागि जुम्ला ल्याइएको छ ।हुम्लाको ताजाकाेट गाउँपालिकाको स्वास्थ्य शाखाले जारी राष्ट्रिय पोषण मूल्याङ्कन अभियानका क्रममा गम्भीर कुपोषित बालबालिकालाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रिफर गरेको छ ।अप्रिल २९ मा सबै ७ सय ५३ स्थानीय एकाइमा सुरु भएको दुई हप्ताको अभियानले देशभरका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कन गर्ने र दुर्गम र सहरी दुवै क्षेत्रमा प्रशोधित र जंक फूडको बढ्दो उपभोगलगायत खराब आहारप्रति बढ्दो चिन्ताको बीचमा लक्षित हस्तक्षेपहरूलाई मार्गदर्शन गर्ने लक्ष्य राखेको छ।गाउँपालिकाको वडा १ देखि ५ सम्म गरिएको प्रारम्भिक मूल्याङ्कनमै पाँच वर्षमुनिका बालबालिकामा गम्भीर कुपोषण देखिएको हो । अवस्था चिन्ताजनक देखिएपछि १० जना बालबालिकालाई आमासहित जुम्लास्थित प्रतिष्ठानको पोषण पुनर्स्थापना केन्द्रमा पठाइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्रभावित बालबालिका ६ महिनादेखि तीन वर्ष उमेर समूहका छन्, जुन शारीरिक वृद्धि र विकासका लागि अत्यन्त संवेदनशील चरण मानिन्छ ।ताजाकाेट -२ माइला स्वास्थ्य चौकीका संयोजक धनराज ढकालका अनुसार वडा २ का ३ जना, वडा ३ का ४ जना, वडा ४ का २ जना र वडा ५ का १ जना बालबालिका गम्भीर कुपोषणका रूपमा पहिचान भएका हुन् ।उनका अनुसार, “गम्भीर कुपोषणका बिरामीको उपचारका लागि जिल्लामा कुनै सुविधा छैन । यी बालबालिकाको घरमै उपचार सम्भव थिएन, त्यसैले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको हो।”बालबालिकाको पहिचान प्रक्रिया दुई चरणमा गरिएको थियो । पहिलो चरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरदैलोमै प्रारम्भिक स्क्रिनिङ गरेका थिए । पोषण अवस्था अत्यन्त कमजोर देखिएका बालबालिकालाई ‘रातो कार्ड’ दिइएको थियो, जसले गम्भीर जोखिम संकेत गर्छ ।दोस्रो चरणमा ती बालबालिकाको माइला स्वास्थ्य चौकीमा पुनः परीक्षण गरिएको थियो । त्यहाँ प्रारम्भिक नतिजा पुष्टि भएपछि जिल्ला बाहिर उपचारका लागि औपचारिक रिफर प्रक्रिया अघि बढाइएको हो ।गाउँपालिकाका अधिकारीहरूका अनुसार जिल्लामा यस्ता गम्भीर अवस्थाका बालबालिकाको उपचार गर्ने संरचना नहुँदा घरमै राख्दा ज्यान जोखिममा पर्ने अवस्था रहन्छ । त्यसैले तत्कालै बाहिर रिफर गर्नु बाध्यता बनेको हो ।स्थानीय सरकारले बालबालिका र आमाहरूलाई जुम्ला पठाउन यातायातको व्यवस्था गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनर्स्थापना केन्द्रले उपचार, आवास तथा खानपानको जिम्मा लिएको छ ।स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले जिल्लामा कुपोषण गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताएका छन् ।उनका अनुसार समस्याको जरा केवल खानामा मात्र सीमित छैन ।कम उमेरमै विवाह, आमाहरूमा प्रसवपछिको पोषणको कमी, स्तनपानसम्बन्धी कमजोर अभ्यास, र आहारबारेको गलत बुझाइ प्रमुख कारण हुन् ।उनले भने, “धेरै परिवारले बच्चा छ महिनापछि नै पौष्टिक आहारको सट्टा प्रशोधित वा जंक फूड दिन थाल्छन् । यसले बालबालिकाको वृद्धि, रोग प्रतिरोधात्मक क्षमता र समग्र स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।”डा तिवारीका अनुसार जिल्ला अस्पतालमै गम्भीर कुपोषणका बिरामीलाई सम्हाल्ने क्षमता छैन । त्यसैले हुम्ला बाहिरका जुम्ला वा सुर्खेतजस्ता सुविधासम्पन्न अस्पतालमा रिफर गर्नु अनिवार्य बनेको छ ।

अप्रिल २७ मा ताजाकाेट गाउँपालिकाले पहिचान भएका बालबालिकालाई पोषण पुनर्स्थापना केन्द्रमा भर्ना गर्न औपचारिक अनुरोध गरेको थियो । त्यसपछि सडक मार्ग हुँदै बालबालिकालाई जुम्ला पठाइएको हो।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षण अस्पतालका निर्देशक डा कमल थानीका अनुसार पोषण पुनर्स्थापना केन्द्रमा भर्ना भएका बालबालिकालाई सामान्यतया दुईदेखि छ हप्तासम्म निरन्तर निगरानी र उपचारमा राखिन्छ ।उनले भने, “उनीहरूको पोषण अवस्था सुधार हुँदै गएपछि र अवस्था स्थिर भएपछि मात्रै डिस्चार्ज गरिन्छ र घर फर्काइन्छ ।”स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता घटना उपचारको विषय मात्र नभई नीति र पूर्वाधारको सवाल पनि हुन् । दुर्गम जिल्लामा पोषण सेवा विस्तार, नियमित स्क्रिनिङ, आमाहरूको पोषण सुधार कार्यक्रम, र जनचेतना अभिवृद्धि नगरेसम्म समस्या दोहोरिरहने उनीहरूको भनाइ छ ।हुम्लाजस्ता दुर्गम क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच सीमित हुँदा कुपोषण जस्ता रोकथाम गर्न सकिने रोगले पनि बालबालिकाको जीवन जोखिममा पारिरहेको स्पष्ट देखिएको छ ।






