सातौँ संस्करणको जुम्ला–रारा म्याराथन तयारी पूरा, ट्रफी र मेडल सार्वजनिक

गाेल्डेन बुढा

जुम्ला ,२३ बैशाख ।

साेलुखुम्बुको साेलुदूधकुण्ड नगरपालिका–२ फेरा गाउँकी २० वर्षीया आङफुर्वा सेर्मा सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनमा सहभागिता जनाउन जुम्ला आइपुगेकी छन्। दोस्रो पटक प्रतियोगितामा सहभागी हुन आएकी उनले यसअघि २०८१ सालमा भएको प्रतियोगितामा आठौँ स्थान हासिल गरेकी थिइन्।जुम्लाको प्राकृतिक सौन्दर्य र खेलकुदमार्फत स्थापित पहिचानले आफूलाई पुनः यहाँसम्म तानेको उनको अनुभव छ। “जुम्ला राम्रो छ, खेलकुदकै कारण चिनिएको छ। मेरो लागि यो अवसर बन्यो,” उनले भनिन्, “प्रतियोगिता जित्नु मात्र होइन, सहभागिता पनि महत्त्वपूर्ण हो। तर यसपटक जित्ने लक्ष्यसहित आएकी छु।”उक्त प्रतियोगितामा साेलुखुम्बुकै महाकुलुङ गाउँपालिका–४ लुचाम गाउँका २२ वर्षीय मिलन राई पनि दोस्रो पटक सहभागी हुँदै छन्। उनी जुम्ला पुग्न तीन दिन लागेको बताउँछन्। “खेलकुदकै कारण जुम्ला पुग्ने अवसर मिल्यो। यहाँको अनुभव फरक र रमाइलो लाग्यो,” उनले भने। उनका अनुसार सुर्खेतसम्मको खर्च आफैँले बेहोरे पनि त्यसपछि आयोजकले बसोबास र खानाको व्यवस्था गरेका छन्।मुगुको छायानाथरारा नगरपालिका–तिर्प गाउँका शिवकृष्ण रोकाया भने तेस्रो पटक प्रतियोगितामा सहभागी हुँदै छन्। विगतमा ‘टप टेन’ भित्र पर्न सफल भएका उनी यसपटक उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्यमा छन्। यस्तै, फ्रान्सका एडगर गोर्डिन पनि दोस्रो पटक सहभागिता जनाउँदै जुम्ला आइपुगेका छन्।यसैबीच, वैशाख २६ गते हुने प्रतियोगिताको ट्रफी र मेडल सार्वजनिक गरिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट म्याराथन ह्याट्रिक विजेता हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत ट्रफी तथा मेडल सार्वजनिक गरेका हुन्।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्ला–रारा अल्ट्रा म्याराथन कर्णालीको साहसिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेको बताए। सातौँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र खेल पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याएको छ।उनका अनुसार, दुर्गम भूगोल र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच सञ्चालन हुँदै आएको यो म्याराथनले कर्णालीलाई केवल खेल क्षेत्र होइन, साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न आधार तयार पारेको छ।

“जुम्ला-रारा अल्ट्रा म्याराथनले कर्णालीलाई विश्वमा चिनाउन महत्वपूर्ण टेवा पुर्‍याएको छ,” उनले भने।पौडेलले प्रतियोगिताले स्थानीय तथा बाह्य नयाँ खेलाडी उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको उल्लेख गरे। कर्णाली खेलकुद क्लबका अनुसार यस वर्ष ५४ किलोमिटर दुरीमा नेपालसहित अमेरिका, भारत, इटाली र फ्रान्सका धावकको सहभागिता रहनेछ। अघिल्ला संस्करणमा ५१ किलोमिटर रहेको दूरी यस वर्ष ५४ किलोमिटर बनाइएको छ। प्रतियोगितामा ५ किलोमिटरतर्फ ६ सय ५० भन्दा बढी, १० किलोमिटरमा २ सयभन्दा बढी र ५४ किलोमिटरमा १ सय ३५ जना धावकले नाम दर्ता गराएका छन्।५४ किलोमिटरतर्फ प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने चौथो र पाँचौँ हुनेलाई जनही २० हजार रुपैयाँ दिइनेछ। महिला तर्फका प्रथम र द्वितीय विजेतालाई अमृता कठायत (बस्नेत)को सम्झनामा थप २५/२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी, १० किलोमिटर (१८ वर्षमुनि) का शीर्ष तीनले क्रमशः १०, सात र पाँच हजार रुपैयाँ तथा ५ किलोमिटरका विजेताले पाँच, तीन र दुई हजार रुपैयाँ प्राप्त गर्नेछन्।कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीका अनुसार प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। जुम्लादेखि रारा तालसम्मको दौड पूरा गर्ने खेलाडीको सम्मानमा सहभागी संख्या बराबर वृक्षारोपण गर्ने योजना पनि अघि सारिएको छ। कर्णालीकाे प्रसिद्ध जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु हुने म्याराथन डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमाराको लेक पार गरी रारा तालमा पुगेर सम्पन्न हुनेछ। देश तथा विदेशका धावकलाई आकर्षित गर्दै आएको यस प्रतियोगिताले जुम्लाको पहिचान विस्तारसँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याइरहेको छ।

सातौँ संस्करणको जुम्ला–रारा म्याराथन तयारी पूरा, ट्रफी र मेडल सार्वजनिक

हुरीले दुई बिघाको केराखेतीमा क्षति

सातौँ संस्करणको जुम्ला–रारा म्याराथन तयारी पूरा, ट्रफी र मेडल सार्वजनिक

काेहलपुर गाेल्डकप : आयाेजक रेसिङ साहारा फाईनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *